नेकपा एसका नेताहरूको तीखो आलोचना गर्दै ओलीले गरे फिर्ता आउन आग्रह [भिडियो]
आफैँले बनाएको पार्टी हुँदाहुँदै आश्रय खोज्दै नहिँड्न र "कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्न नजान" आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
1.2k
Shares
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालसहितका नेताहरूलाई पुनः एमालेमै फर्किन आह्वान गरेका छन्।
आज (बुधबार) ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा विभिन्न कारणले घर छोडेर अन्यत्र जानुपरेको भए पनि अब मूल घरमा फर्किने बेला भएको बताएका हुन्।
उनले भने, "हिजो उहाँहरू समेत भएर पनि हामीले यो पार्टी निर्माण गरेका हौँ। उहाँहरूको पनि यो पार्टी निर्माण गर्नमा योगदान छ। विभिन्न कारणले जानुभयो होला, कुनै समय कतै त्यसैमा नअल्झिनुस्।"
अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) का नेताहरूलाई लक्ष्य गर्दै "समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बस्दैछन्" भन्दै टिप्पणी गरे। आफैँले बनाएको पार्टी हुँदाहुँदै आश्रय खोज्दै नहिँड्न र "कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्न नजान" उनले आग्रह गरे।
नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको प्रयास जारी रहेका समाचार आइरहेका बेला ओलीको यो अभिव्यक्ति आएको हो। उनले अहिले पनि एमाले साढे ६ लाख सदस्य र २३ वटा महासंघ भएको मजबुत पार्टी रहेको दाबी गर्दै यसलाई कसैले पनि डग्मगाउन नसक्ने बताए।
उनले पार्टी फुटाउन सक्रिय भएको । कांग्रेसले संसद विघटन गर्दा चुनावमा जान तयार भए पनि आफ्नै पार्टीका नेताहरूले संसद विघटन गर्न नदिएको लगायतका आरोप लगाएर माधव नेपालको पार्टीलाई गर्नुसम्म गाली गरे । अनि पछि माओवादीलाई संकेत गर्दै "कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्न नजान" आग्रह गरे ।