काठमाडौँ । भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा पनि वेष्ट इन्डिजले कमजोर प्रदर्शन गरेको छ । दिल्लीमा भइरहेको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ५१८ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो ।
यशस्वि जैसवालले १७५ तथा कप्तान शुबमन गिलले अविजित रहँदै १२९ रन बनाए । जोमेल वारिकनले ३ विकेट लिए ।
जवाफमा वेष्ट इन्डिजले शनिबार दोस्रो दिनको समाप्तिसम्म ४ विकेटको क्षतिमा १४० रन बनाएको छ । एलिक एथानाजले ४१ तथा तागेनाराइन चन्द्रपलले ३४ रन बनाए । शाइ होप ३१ रनमा अविजित छन् । उनलाई तेस्रो दिन तेभिन इम्लाचले १४ रनबाट साथ दिनेछन् ।
रविन्द्र जडेजाले ३ तथा कुलदीप यादवले १ विकेट लिएका छन् । वेष्ट इन्डिज अझै ३७८ रनले पछाडि छ । उसलाई फलोअन जोगाउन समस्या देखिएको छ ।
यसअघि पहिलो खेल भारतले एक इनिङ्स र १४० रनले जितेको थियो । वेष्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै १६२ रन बनायो । जवाफमा भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ४४८ रन बनाएर इनिङ्स समाप्ति गरेको थियो ।
त्यसपछि आएको वेष्ट इन्डिजले १४६ रनमात्र बनाएको थियो ।
दोस्रो खेलमा भने वेष्ट इन्डिजले सुधारोन्मुख खेल खेलेको छ ।