कोजाग्रत पूर्णिमाको विशेष रौनक: जानकी मन्दिरमा १०१ 'भार' र नवविवाहितको 'चुमाओन'
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
900
Shares
महेन्द्रनगर (धनुषा)। हिन्दू धर्ममा विशेष महत्त्व राख्ने कोजाग्रत पूर्णिमाको अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली (भार) अर्पण गरिएको छ। धार्मिक विश्वासअनुसार देवी लक्ष्मीले जाग्राम बसेका भक्तजनलाई धन र समृद्धिको वर्षा गर्ने भएकाले यो रातलाई 'अमृत वर्षा' रातका रूपमा लिइन्छ।
सयौँ वर्षदेखि निरन्तर चलिआएको यस धार्मिक परम्पराअनुसार यस वर्ष पनि महोत्तरीको रतौली गाउँबाट रतौलीवासीले विविध पूजा सामग्रीसहितको भार जानकी मन्दिरमा ल्याएका हुन्। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामारोशन दास वैष्णवले दिएको जानकारीअनुसार रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट ल्याइएको यस भारबाटै भगवान् सीतारामको चुमाओन गर्ने परम्परा छ।
भारका सामग्री: रतौलीबाट ल्याइएको भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको कपडा लगायतका सामग्री समावेश हुन्छन्।
सांस्कृतिक महत्त्व: पण्डित कुशेश्वर उपाध्यायका अनुसार रतौलीबाट ल्याइने यो भार जानकी र रामप्रति भक्तिको प्रतीकका रूपमा लिइन्छ र यस परम्पराले मिथिला क्षेत्रको सांस्कृतिक तथा धार्मिक ऐक्यबद्धतालाई मजबुत बनाउँदै आएको छ।
कोजाग्रत पूर्णिमालाई भव्य बनाउन जानकी मन्दिरमा भजन कीर्तन र हाँस्यपरिहासका कार्यक्रमसहित विशेष महोत्सवको आयोजना गरिएको महन्थ रामतपेश्वर दास वैष्णवले बताए।
कोजाग्रत पूर्णिमाको दिन मिथिला क्षेत्रमा नवविवाहित पुरुषका लागि यो पर्व विशेष उत्सवका रूपमा रहन्छ। यस दिन बेहुलीको घरबाट बेहुलाको घरमा भार आउने गर्दछ।
चुमाओन र कोसेली: भारमा पान, मखान, फलफूल, दही, मिठाई जस्ता सामग्री अनिवार्य हुन्छ भने बेहुलासहित उनको परिवारका महिला सदस्यका लागि कपडा लैजानुपर्ने हुन्छ। बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई 'चुमाओन' (आशीर्वाद) गर्छन्। बेहुलाको टाउकोदेखि खुट्टासम्म पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ। यस दिन बेहुलालाई मिथिलाको पाग लगाइ ससुरालीबाट आएको कपडा पहिराउने गरिन्छ।
दाइजो तथा भोज: चुमाओन विधि सकिएपछि सामूहिक रूपमा खानपिन (भोजजस्तै) को आयोजना गरिन्छ र मिठाई, मखन, पान बाँड्ने चलन छ। बेहुली पक्षबाट भारका साथै आभूषण, औँठी, छाता, घडी लगायतका अन्य सामान दिने चलन छ। यस दिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरेअनुसार बाँकी दाइजो दिने चलन पनि रहेको छ।
भारको सङ्ख्या र खेल: बेहुली पक्षबाट कम्तीमा पाँच देखि ११ वा १५ जनासम्म भार लिएर आउने गर्छन् भने क्षमताअनुसार सय वटासम्म भार पठाउन सकिन्छ। खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ, जुन आठ कौडी र सोह्र गोटीद्वारा पासाका चौँसट्ठी प्रयोग गरी बेहुला र बेहुलीका दाजु वा भाइबीच खेलिन्छ। मिथिला संस्कृतिअनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्याउनुपर्ने हुन्छ।