काठमाडौँ। पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन मंगलबार परिक्रमामा सहभागी तथा जनकपुरवासीले अन्तःगृह परिक्रमा गरेका छन् ।
योसँगै मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा मंगलबार समाप्त भएको हो ।
सोमबार जनकपुरधाम आइपुगेको परिक्रमा, राति १२ बजेदेखि नै अन्तगृह परिक्रमामा सहभागी भएका थिए ।
अन्तःगृह परिक्रमामा जनकपुरधाम वरिपरिको पाँच कोसको पैदल यात्रा गर्नुपर्ने हुन्छ ।
मिथिला माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेकाहरूले यस अन्तःगृह परिक्रमा गर्दा १५ दिन परिक्रमा गरेकै सरह हुने जनविश्वास छ ।
अन्तगृह परिक्रमामा लाखौँ स्थानीयसहित नेपाल भारतबाट मिथिला माध्यमिकी परिक्रमामा सहभागी हुन आएका परिक्रमा यात्रुहरूको सहभागिता हुन्छ ।
धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारी मन्दिरबाट फागुन ८ गतेदेखि भगवानको डोला निस्केपछि १५ दिने मध्यमा परिक्रमा आरम्भ भएको थियो ।
नेपाल-भारत दुवै देशको धार्मिक, सामाजिक तथा सांस्कृतिक प्रतीक रहेको परिक्रमा पदयात्राको क्रममा नेपालमा १३ र भारतमा दुई गरी १५ ओटा विश्रामस्थल छन् ।
परिक्रमामा सहभागी यात्रीहरूले नेपालका एक सय सात र भारतका २६ गरी एक सय ३३ किलोमिटर पैदल यात्रा गर्ने गर्छन् ।
मंगलबार तराई भेगमा होली मनाइने भए पनि, मिथिलाञ्चलमा भने पूर्णिमा अघिल्लो दिनमात्र होली खेलिने परम्परा छ ।
यस अनुसार जनकपुरधाममा भने बुधबारमात्र होली खेलिने छ ।