arrow

नयाँ वर्षको रोजाइमा मधेसमा आठ गन्तव्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
train-nepal-dhanusha.jpg

जनकपुर । नयाँ वर्षमा घुमफिर र मनोरञ्जन गर्न नयाँ ठाउँ जानेहरूका लागि मधेस प्रदेशको मुटु मानिने जनकपुरधाम घुम्नै पर्ने गन्तव्य हो ।

नयाँ वर्षमा पर्यटकीय स्थलका साथै धार्मिक दृष्टिकोणले एक पटक अवलोकन गर्नै पर्ने ठाउँहरूमध्ये जनकपुरधाम पनि प्राथमिकतामा पर्छ ।

५२ कुट्टि ७२ कुण्डको शहर जनकपुरधाम धार्मिक नगरीको रुपमा विश्वमै चिनिन्छ । झन देश संघीयतामा प्रवेश गरेदेखि यहाँ भएका भौतिक विकासले पर्यटकका लागि आकर्षणको केन्द्र नै बनेको छ । ०८३ वर्षको आगमनसँगै जनकपुरधाम घुम्न आउनेहरूको संख्या एक हप्ता अघिदेखि नै बढेको छ ।

यी हुन् घुम्नै पर्ने आठ गन्तव्य

जानकी मन्दिर : राजा जनकको दरबार भनेर चिनिने जानकी मन्दिर जहाँको संरचनाले यहाँ आउने पर्यटक र श्रद्धालु भक्तजनहरूलाई प्रभावित बनाउने गर्छ । जनकपुरधाम आउने जोकोहीको पनि मनमा पहिला जानकी मन्दिर दर्शन गर्ने नै हुन्छ । जानकी मन्दिर विश्वमै परिचित छ । रामायणमा भगवान राम र माता सीताको विवाह प्रशंगसँग जोडिएको जानकी मन्दिर पर्यटकहरूको पहिलो रोजाई हो ।

मणिमण्डप : जानकी मन्दिरबाट करीब १५ मिनेट टाढा रहेको मणिमण्डप जनकपुरधामको मुजेलियामा छ । यो त्यही ठाउँ हो जहाँ भगवान राम र माता सीतको विवाह भएको थियो । मैथिली परम्परा अनुसार भएको विवाहमा बनाइएको बेदीस्थान अहिले पनि यथावत छ । शहरभन्दा अलि टाढा रहेको यो स्थानमा आउँदा छ्ट्टै शान्तिको अनुभूति हुन्छ । केन्द्र र प्रदेश सरकारले जनकपुरधामलाई वैवाहिक गन्तव्य बनाउने अवधारणा ल्याएको छ ।

जनक दरबार : वैवाहिक गन्तव्य बनाउने अवधारणाका साथ सरकारले मणिमण्डपको छेउमै जनक दरबार बनाएको छ । केही वर्ष अघिमात्र निर्माण भएको जनक दरबार मुख्यतः घुम्न आउने, सेल्फी लिने र विवाह समारोह गर्नका लागि उत्तम स्थल हो । यहाँ दैनिक हजारौँ पर्यटकहरू भारत र नेपालका विभिन्न स्थानबाट आउने गर्छन ।

नोचा पोखरी : हुनत जनकपुरधाम पोखरीहरूको शहर भनेर पनि चिनिन्छ । सयौँ पोखरीहरू भएको जनकपुरधाममा नोचा पोखरी सबैभन्दा ठूलो र शान्त ठाउँमा छ । विमानस्थल भन्दा १० मिनेटको दूरीमा रहेको नोचा पोखरी पुग्दा कुनै छुट्टै संसारमा पुगेको अनुभव हुन्छ । चारैतिर रुख र बीचमा सुन्दर पोखरी, पिकनिक मनाउन आउने, शान्त वातावरण खोज्ने, ध्यान गर्ने, फोटो/भिडियो सुट गर्नेहरूका लागि यो पहिलो प्राथमिकतामा पर्ने स्थल छ ।

गंगासागर पोखरी : जनकपुरधामको केन्द्रमा रहेको गंगासागर पोखरीको ऐतिहासिक मान्यता छ । यहाँ हुने दैनिक गंगा आरती हेर्न प्रत्येक साँझ हजारौं पर्यटकहरूको भीड लाग्ने गर्छ । गंगासागर पोखरी छठ पूजाका लागि प्रसिद्ध छ भने यहाँको हरियो पानीमा नौकाविहार गर्न पनि सकिन्छ ।

धनुषाधाम : जनकपुरधाममा करिब ४५ मिनेट टाढा रहेको धनुषाधाम हरेक हिन्दू धर्मावलम्बीहरूले एक पटक पुग्नैपर्ने स्थान हो । रामायणमा सीता स्वयंवरको बेला भगवान रामले तोडेको धनुषको एक टुक्रा यही स्थानमा छ । यो टुक्रा खसेको स्थानमा धनुष मन्दिर छ भने धनुषको टुक्रा अहिले पनि जीवन्त अवस्थामा छ ।

जनकपुरको ट्रेन : नेपालको एक मात्र रेल, जनकपुरधाममै छ। दैनिक तीन पटक चल्ने रेलमा सवार भइ एक पटक अनुभव गर्न भनेर मात्र यहाँ दैनिक देशका कुना कुनाबाट कयौँ पर्यटकहरू आउने गर्छन । जनकपुरबाट भारतको जयनगर पुगेर फेरि फर्किनमात्र जम्मा तीन घण्टा लाग्ने यात्रा अविस्मरिणय मानिएको छ ।

भूतनाथ मन्दिर-स्वर्गद्वारी: जनकपुरधामको गंगासागर पोखरीकै छेउमा रहेको छ भूतनाथ मन्दिर । जसलाई स्वर्गद्वारी पनि भनिन्छ । यहाँ दैनिक कयौँ शव जलाइन्छ । हुन त शव जलाउने स्थलमा जान डर मानिन्छ तर जनकपुरधामको यस स्वगद्वारी भने पर्यटकहरूको आकर्षणको केन्द्रहरूमध्येको एक हो । स्वर्गद्वारी जति सफा, स्वच्छ र हरियाली भएको स्थान जनकपुरधाममा अन्यत्र छैन । यहाँको सरसफाई र बगैँचामा बस्दा विदेशको कुनै पार्कमा बसेको अनुभव हुन्छ । झन यहाँ रहेको भूतनाथको मन्दिर र भगवान शिव र पार्वतीको विशाल मूर्तिमा दर्शन गर्न र फोटो खिचाउने आउनेहरू भावुक हुने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ