arrow

सचिव मैनाली भन्छन् - नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
hari-pd-mainali.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सचिव मैनालीले सरकार नियामक र समन्वयकारी भूमिकामा रहने भए पनि वास्तविक कार्यान्वयन र प्रवर्द्धनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताए ।

‘नेपालको पर्यटनको कुरा गर्दाखेरि निजी क्षेत्र नै हो,’ उनले भने, ‘सरकार एउटा नियामक निकायको रूपमा, पहुँचकर्ता र समन्वयकर्ता हो, तर पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निजी क्षेत्रले नै खेलेको छ ।’

उनले नीति सुधार, सरकारी तहबीचको समन्वय र संस्थागत सहकार्यलाई मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गरे । 
‘तीनै तहका सरकारबीच, निजी क्षेत्रबीच र विभिन्न मन्त्रालय तथा निकायबीच समन्वय गरेर मन्त्रालयले पर्यटनको क्षेत्रमा ध्यान दिनेछ,’ सचिव मैनालीले भने ।

उनले स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न माध्यमबाट पर्यटकीय गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरे । 

‘हामीसँग नेपाल पर्यटन बोर्डलगायत पर्यटनसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न अन्य निकाय छन् । तिनीहरूसँग समन्वय गर्दै आएका छौँ,’ उनले थपे ।

सचिव मैनालीले निजी क्षेत्रसँगको निरन्तर संवाद र सहकार्य पर्यटन प्रवर्द्धनको प्रमुख आधार भएको भन्दै मन्त्रालय सधैँ सकारात्मक वातावरणमा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

उनले नीतिगत संवाददेखि अन्य सबै कुरामा निजी क्षेत्रको साथ र समर्थनलाई आफूले उच्च मूल्यांकन गरेको समेत उल्लेख गरे ।

उनले भने, ‘अन्य प्रत्यक्ष अप्रत्यक्ष रुपमा पर्यटनसँग सम्बन्धित रहेका निकायसँग हामीले समन्वय गरिरहेका छौँ।  निजी क्षेत्रसँग पनि हामी पर्यटन क्षेत्रको विकासका लागि हामी छलफल गरिरहेकै छौँ । निजी क्षेत्रले  सार्पोटिभ वातावरणमा मन्त्रालयसँग नीतिगत सम्वादलगायत हरेक कुराको मैले उच्च रुपमा मूल्यांकन गरेको छु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ