'एमाले जनताको बहुदलीय जनवादकै मार्गदर्शनमा अघि बढिरहेको छ' [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
612
Shares
ललितपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नै अघि बढिरहेको बताएका छन्। पार्टीको विधान महाधिवेशनमा उठेका संगठनात्मक प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो भनाइ राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
महासचिव पोखरेलले एमालेले जबज छोड्यो भनेर गरिने भ्रमपूर्ण प्रचार नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। उनले पार्टीका सबै दस्ताबेजहरूमा जबजलाई निर्देशक सिद्धान्त मानिएको र यसलाई समृद्ध बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर नेतृत्व गरिरहेको दाबी गरे। पोखरेलले भने, "जबज हाम्रो निर्देशक सिद्धान्त हो, हाम्रो विचार हो।"
उनले जबजको जगमा एमालेले लोकतान्त्रिक विधिहरू अपनाउँदै पार्टी निर्माण गरिरहेको र यसको नेतृत्व अध्यक्ष ओलीले गरिरहेको बताए। उनले २०५१ सालमा सरकार बनाउने र शक्ति सञ्चयको कार्यनीति लगायतका महत्त्वपूर्ण निर्णयहरू पनि ओलीकै नेतृत्वमा भएको उल्लेख गरे।
महासचिव पोखरेलले एमाले सैनिक वा राजकीय पार्टी नभई प्रतिस्पर्धा र श्रेष्ठतामा आधारित पार्टी रहेको र यो नीति जबजबाट नै निर्देशित रहेको स्पष्ट पारे। उनले जबजको नीतिलाई खुम्च्याइएको नभई फराकिलो बनाइएकोमा पनि जोड दिए।