लिपुलेकबारे चीनसँग राखेको धारणा 'रेकर्डेड' भएको ओलीको प्रष्टीकरण [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
747
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई भारत र चीनबीचको व्यापारिक मार्ग बनाउने समझदारीबारे आफूले चिनियाँ पक्षसँग स्पष्ट कुरा राखेको बताएका छन्। एमालेको विधान महाधिवेशन उद्घाटनका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक भेटवार्तामा यस विषयमा असहमति जनाएको बताएका हुन्।
प्रधानमन्त्री ओलीका अनुसार, उनले राष्ट्रपति सीसँग दुई देशले नेपालको भूमिमाथि व्यापारिक मार्ग बनाउने समझदारी गर्न नमिल्ने भन्दै नेपालको असहमति स्पष्ट पारेका थिए। उनले यो कुरा भेटवार्ताको अडियो, भिडियो र कूटनीतिक नोटहरूमा पनि रेकर्ड भएको बताए।
प्रधानमन्त्रीका अनुसार, राष्ट्रपति सीले नेपालको सार्वभौमिकताको पूर्ण सम्मान गर्ने र कुनै तलमाथि हुन नदिने आश्वासन दिएका थिए। सीले लिपुलेकको मुद्दा नेपाल र भारतबीचको विषय भएकाले यसलाई कूटनीतिक वार्तामार्फत समाधान गर्न सुझाव दिएको पनि ओलीले बताए।
प्रधानमन्त्री ओलीले आफूले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको बताए। उनले आफ्नो सरकार असंलग्न परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र राष्ट्रिय हितको विरुद्ध कुनै पनि गतिविधि नगर्ने स्पष्ट पारेका छन्। उनले लिपुलेकको समस्या समाधानका लागि अब भारतसँग पनि पहल गर्ने बताए।