पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवाद विधान महाधिवेशनको विषय होइन - शंकर पोखरेल [भिडियो]
यस्तो छ विधान महाधिवेशनको कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
672
Shares
काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यतासम्बन्धी फरक मतमाथि छलफल हुन नसक्ने बताएका छन्। उनले विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था रहेकोले यो विषय विधान महाधिवेशनको क्षेत्राधिकारभित्र नपर्ने तर्क गरे।
महासचिव पोखरेलले बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकमा फरक मत राखे पनि त्यो पार्टी कमिटीको निर्णयमाथिको असहमति भएको स्पष्ट पारे। उनले उपाध्यक्ष पाण्डेले विधान महाधिवेशनमा फरक मत राख्ने घोषणा गरे पनि विधानले त्यसको अनुमति नदिने जिकिर गरे।
पोखरेलले भने, "विधान महाधिवेशनमा फरक मतको अनुमान नगरौँ। अहिले दस्तावेजमाथि फरक मत आएको छैन, यो निर्णयमाथिको फरक मत हो। निर्णयमाथिको असहमति र दस्तावेजमाथिको फरक मत फरक विषय हुन्।" उनका अनुसार, केन्द्रीय कमिटीको निर्णयमाथि असहमति जनाउने विषय राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न उचित हुन्छ।
एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ। महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नेछन्।
महासचिव पोखरेलले स्थायी कमिटी सदस्य कर्ण थापाले उठाएको पार्टी जीवनको लोकतान्त्रिकरणसम्बन्धी फरक मत विधानको सन्दर्भसँग जोडिएकोले यसमा छलफल हुनसक्ने बताए। पार्टीले विधान महाधिवेशनको सम्पूर्ण खर्च केन्द्रीय कमिटीले नै व्यहोर्ने जनाएको छ।