काठमाडौँ महानगरद्वारा बजार अनुगमन तीव्र, अखाद्य वस्तु भेटिएपछि जरिबाना
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
631
Shares
काठमाडौँ। चाडपर्व नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। यसै क्रममा अखाद्य वस्तु भेटिएको भन्दै धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक मदिरा कम्पनीलाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ।
सिलबन्दी अवस्थामा बजारमा बिक्री भइरहेको उक्त मदिरामा झिँगा फेला परेपछि उपभोक्ताको उजुरीको आधारमा अनुगमन गरिएको थियो। काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, नमूना जाँच गर्दा अखाद्य वस्तु भेटिएको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अनुसार जरिबाना गरेको हो।
यसबाहेक, वसन्तपुर र इन्द्रचोक क्षेत्रका चार रेस्टुराँ र एक मिठाई पसलको अनुगमन गर्दा ३१ लिटर अखाद्य तेल पनि नष्ट गरिएको छ। अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता, सरसफाइ, र खाद्यवस्तुको उचित भण्डारणमा ध्यान दिन निर्देशन दिएको छ।
महानगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।