नेपाल र भियतनामबीच व्यापार, लगानी र पर्यटनमा सहकार्य बढाउने सहमति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
647
Shares
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच आज बिहान काठमाडौंमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
होटल याक एन्ड यतिमा भएको भेटवार्तामा दुवै पक्षले व्यापार, लगानी, जलविद्युत, पर्यटन, र सांस्कृतिक सहकार्य लगायतका विषयमा छलफल गरेका छन्। बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले जानकारी दिएअनुसार, दुवै देशले मित्रता र सद्भावनामा आधारित सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुख्य सहमति र छलफलका विषयहरू:
उच्चस्तरीय भ्रमण: दुई देशका उच्च तहका अधिकारीबीच भ्रमण आदानप्रदान गर्ने सहमति भएको छ।
सांस्कृतिक र धार्मिक पर्यटन: बुद्ध धर्म दुवै देशको सम्बन्धको सेतु रहेकाले धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने सम्भावनाबारे छलफल भएको छ।
एयर कनेक्टिभिटी: पर्यटन बढाउन निकट भविष्यमा हवाई सम्पर्क बढाउनका लागि आपसी छलफल गर्ने कुराकानी भएको छ।
आर्थिक सहकार्य: भियतनामको तीव्र आर्थिक वृद्धि नेपालका लागि सिकाइको अवसर भएको उल्लेख गर्दै दुवै देशले व्यापार, लगानी, र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने सहमति गरेका छन्।
जलवायु परिवर्तन: दुवै देशले जलवायु परिवर्तन र वातावरणीय चुनौतीको सामना गर्न सहकार्य गर्ने सहमति पनि गरेका छन्।
नेपालका उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा भएको हो, जुन भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण पनि हो।