त्रिभुवन विश्वविद्यालयमा देखिएको द्वन्द्व अन्त्य गर्न गृहमन्त्रीको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
694
Shares
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालयमा भइरहेको द्वन्द्व अन्त्य गर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन्। उनले विश्वविद्यालयको आन्तरिक मामिलामा गृह मन्त्रालयले समेत हस्तक्षेप गर्नुपरेको र प्राध्यापकहरूको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा अधिकारी खटाउनुपरेको बताए।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले विश्वविद्यालयमा राजनीतिक दलका भ्रातृ संस्थाहरूले बन्द, हडताल, तोडफोड र प्राध्यापकमाथि हातपातजस्ता क्रियाकलाप गर्दै आएकोमा चिन्ता व्यक्त गरे।
उनले भने, “त्रिभुवन विश्वविद्यालयमा नै यस्तो द्वन्द्व छ कि त्यो द्वन्द्वमा पनि गृह मन्त्रालयले प्रवेश गर्नुपरेको छ। सरहरूको सुरक्षाका लागि मैले पीएसओ पठाउनुपरेको छ।” उनले द्वन्द्व गर्नेहरूलाई पीएसओ फिर्ता गर्ने वातावरण बनाउन हार्दिक अपिल पनि गरे।
गृहमन्त्री लेखकले सरकार द्वन्द्व न्यूनीकरणका लागि विश्वविद्यालयसँग मिलेर काम गर्न तयार रहेको बताए। उनले आत्महत्या नियन्त्रणका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको उदाहरण दिँदै द्वन्द्वका क्षेत्रमा पनि सहकार्य गर्न आग्रह गरे।