डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउनुपर्छ: ऊर्जामन्त्री
भोलि पनि उद्योगधन्दाहरूलाई हामीले बिजुली बेच्नुपर्छ, त्यसैले घाँटी काटेर बक्यौता उठाउने कुरा मलाई मान्य छैन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
718
Shares
काठमाडौँ। ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत बिजुली प्रयोग गर्ने उद्योगीहरूबाट प्रिमियम बक्यौता उठाउनुपर्ने पक्षमा आफू रहेको बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले टीओडी मिटरमा उठेको रकम उद्योगको लाइन नकाटिकनै उठाउनुपर्ने बताए।
मन्त्री खड्काले भने, "भोलि पनि उद्योगधन्दाहरूलाई हामीले बिजुली बेच्नुपर्छ, त्यसैले घाँटी काटेर बक्यौता उठाउने कुरा मलाई मान्य छैन।" तर, उनले उद्योगीले उपभोग गरेको बिजुलीको पैसा भने दररेट र टीओडी मिटरको आधारमा तिर्नुपर्नेमा जोड दिए।
उनले विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई बक्यौताको बिल किन समयमा नदिएको भन्दै प्रश्न गरे। "बिल नदिएका कर्मचारीलाई कारबाही गर्नुपर्छ भन्ने लागेन?" उनले प्रश्न गर्दै भने, "अधिकारको कुरा गर्दा कर्तव्यको कुरा सँगसँगै आउँदैन र?"
मन्त्री खड्काले बक्यौता उठाउन आफू आएदेखि नै प्रयत्न गरेको र यस विषयमा बनेको लाल आयोगको प्रतिवेदन पनि आफूले सार्वजनिक गरेको बताए। उनले कुनै पनि निकायबाट आफू नतर्सिने बताउँदै कानुनभित्र रहेर अनुशासनपूर्वक काम गर्न प्राधिकरणका कर्मचारीलाई निर्देशन दिए।
उनले बक्यौता असुलीमा सहयोग गर्न मन्त्रालयले समिति बनाउँदा अदालत जाने र अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाए। साथै, उनले अख्तियारमा चिठी पठाएको भरमा आफू चुप नबस्ने चेतावनी समेत दिए।