arrow

गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, दश हजारभन्दा बढी गुनासो सम्बोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
urja-mantralaya.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सर्वसाधारणका गुनासो लिने मात्र नभई त्यसको तत्काल समाधान पनि गर्ने उद्देश्यका साथ आफ्नो हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको छ। मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गर्दै यस संयन्त्रलाई परिणाममुखी बनाएको जनाएको हो।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेलगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ शैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू जनसरोकारका विषयमा थप सक्रिय देखिएका छन्। मन्त्री श्रेष्ठको निर्देशनपछि चौबिसै घण्टा सञ्चालनमा रहने हटलाइन ११५१ अब केवल गुनासो दर्ता गर्ने माध्यममा सीमित नरहेर समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास भएको छ।

सेवाग्राहीका फोन, ह्वाट्सएप, इमेलदेखि ‘हेलो सरकार’सम्म आएका गुनासाहरूलाई तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने प्रणाली बनाइएको छ। यसलाई मन्त्री श्रेष्ठको सचिवालयले नियमित प्रशासनिक प्रक्रियाभन्दा माथि उठेर उत्तरदायी एवम् जवाफदेही ढङ्गले अघि बढाएको छ। मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जन र स्वकीय सचिव राजा शाक्य स्वयम् जनसरोकारका विषय सम्बोधन गर्न सम्बन्धित निकायसँगको समन्वयमा खटिँदै आएका छन्।

मन्त्रालयका अनुसार गत चैत १५ गतेयता मात्रै हटलाइन र अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन्। गत चैत १५ देखि ३० गतेसम्मको अवधिमा फोनमार्फत ४,२४८, ह्वाट्सएपबाट १४, इमेलबाट २ तथा हेलो सरकारमार्फत ५ वटा गुनासो आएका थिए भने वैशाख महिनाभर फोनमार्फत ६,०२६, ह्वाट्सएपबाट ९२ र इमेलबाट १० वटा उजुरी दर्ता भएका छन्। यसबाहेक लिखित रूपमा आएका २०० भन्दा बढी निवेदन तथा सञ्चारमाध्यममा प्रकाशित जनसरोकारका विषयलाई समेत सचिवालयले निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाएको छ।

प्राप्त अधिकांश गुनासोहरू विद्युतीय दुर्घटना, विद्युत् लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, प्रसारण लाइन लत्रिने, पोल ढल्ने वा सार्नुपर्ने, तारमा आगलागी, मिटर र पोल नपाउने, मिटर रिडिङ तथा इभी चार्जिङ र सिँचाइमा हुने ढिलासुस्तीसँग सम्बन्धित रहेका छन्। कतिपय ठूला र संवेदनशील घटनामा मन्त्रालयले प्रत्यक्ष सक्रियता देखाएर तत्काल सेवा सुचारु गराएको छ।

बाँकेको चिसापानी क्षेत्रमा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनका दुई वटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित भएको घटनामा मन्त्रालयले तत्काल समन्वय गरी सेवा पुनर्निर्माणलाई प्राथमिकता दियो र यसबारे छानबिन समेत अघि बढाएको छ।

त्यस्तै, चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुग्दा स्याङ्जाको वालिङ र भिरकोट क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सञ्चालनमा ल्याइएको थियो। काठमाडौँको स्वयम्भू क्षेत्रमा वर्षौंदेखि सडकको बीच भागमा ठडिएका पोल स्थानान्तरण गर्ने जनगुनासोलाई पनि स्थानीय तह, विद्युत् प्राधिकरण र सम्बन्धित निकायबीच समन्वय गरी समाधान गरिएको सचिवालयले जनाएको छ।

ऊर्जा मन्त्रालयले अवलम्बन गरेको यो नयाँ कार्यशैलीले सर्वसाधारणलाई ‘सुनुवाइ हुने सरकार’को अनुभूति दिलाउने प्रयास गरेको छ। गुनासो दर्ता गरेर महिनौँ कुर्नुपर्ने पुरानो प्रवृत्तिलाई चिर्दै तत्काल प्रतिक्रिया र प्रत्यक्ष अनुगमनको यो अभ्यासले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने र सेवाग्राहीमा भरोसा बढाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ