राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन: अध्यक्ष लिङ्देन [भिडियो]
पार्टीको निर्णय चित्त नबुझे महाधिवेशनबाट नेतृत्वमाथि चुनौति दिनुस्
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
598
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन्। उनले पार्टीभित्र हाल देखिएको विवादले राप्रपा नफुट्ने स्पष्ट पारे।
अध्यक्ष लिङ्देनले विगतमा सानो कुरामा चित्त नबुझ्नेबित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको स्वीकार गर्दै अब भने त्यो सम्भावना नरहेको दाबी गरे। उनले भने, "यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन। अब राप्रपा कहिल्यै विभाजित हुँदैन।"
अध्यक्ष लिङ्देनले पार्टीका आन्तरिक विवादहरूलाई पार्टीभित्रै बसेर समाधान गर्नुपर्नेमा जोड दिए। उनले आफ्ना कुरा कमिटीहरूमा छलफल गर्ने, बहुमतको निर्णयलाई स्वीकार गर्ने र चित्त नबुझेमा महाधिवेशनमा गएर नेतृत्वलाई चुनौती दिन सकिने बताए। तर, पार्टीको आन्तरिक विषयलाई सञ्चारमाध्यममा लैजाने र शुभेच्छुकहरूमा भ्रम फैलाउने काम गर्न नहुने उनको भनाइ छ।
उनले असन्तुष्ट पक्षले लगाएको विधान विपरीत काम गरेको भन्ने आरोपको पनि खण्डन गरे। उनले पार्टीको विधानले नै अध्यक्षलाई विभिन्न समिति गठन गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने अधिकार दिएको र आफूले त्यहीअनुसार नियमित काम मात्र गरेको दाबी गरे। उनले कसैलाई पनि पार्टीबाट निष्कासन नगरिएको र निर्वाचन आयोगमा उजुरी दिनुको कुनै अर्थ नभएको पनि बताए, किनकि पार्टीको आन्तरिक विषय हेर्ने काम आयोगको क्षेत्राधिकारमा पर्दैन।
अध्यक्ष लिङ्देनले नेपालजस्तो भूराजनीतिक परिस्थिति भएको देशका लागि अभिभावकीय संस्थाका रूपमा राजसंस्था उपयुक्त हुने आफ्नो धारणा दोहोर्याए। पछिल्लो समयमा राजसंस्थाको पक्षमा बन्दै गएको जनमत र परिवेशले राजसंस्था पुनःस्थापना निकट पुगेको उनले दाबी गरे।
उनले राजसंस्था पक्षधर शक्तिहरू एकजुट हुँदै गएको र गत जेठ १५ गतेको कार्यक्रमले त्यसको सकारात्मक सन्देश दिएको पनि बताए। सो कार्यक्रमले तत्काल ठोस परिणाम नदिए पनि सबै शक्तिलाई एकै ठाउँमा उभिन सफल भएको उनको भनाइ छ।