देशभर मनसुनी वायुको प्रभाव, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
643
Shares
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराईमा अवस्थित छ। यसको प्रभावले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा अधिकांश बदली रहेको छ।
आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा अधिकांश बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षा हुने सम्भावना रहेका ठाउँमा दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।