पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
499
Shares
काठमाडौँ । हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण देशका हिमाली तथा पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना छ भने तराईका केही क्षेत्रमा अत्यधिक गर्मी बढ्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। यसै गरी मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने सम्भावना छ भने देशका बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ। यसका साथै मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने तातो दिन हुने सम्भावना रहेकाले गर्मी बढ्नेछ।
रातीको समयमा पनि कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भू-भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। तराईका भू-भागमा भने राती पनि मौसम मुख्यतया सफा नै रहनेछ।
यसैगरी राती कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।