arrow

पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम

देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न क्षेत्रको मौसममा फेरबदल भई वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली (आकासमा बादल लाग्ने) रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ। अहिले लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यसै गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भूभागका एक-दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।

मौसम महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि क्षेत्र, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिएको छ। मौसममा आउने यस्तो उतारचढावका कारण हुन सक्ने सम्भावित जोखिम वा क्षतिबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ