पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा 'लु' को चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
335
Shares
काठमाडौँ । हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोसी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली (बादल) रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था छ। हाल कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने देखिन्छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। साथै, लुम्बिनी प्रदेशको तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। अर्कोतर्फ, वर्षा नहुने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने अत्यधिक गर्मी अर्थात् तातो दिन (लु) हुने सम्भावना कायमै रहनेछ।
आज राति कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ। वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।