arrow
ADVERTISEMENT

दिनभर उखरमाउलो गर्मी, रातभर सघन वर्षा

धमाधम धानको ब्याड राख्न थालियो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
rice-paddy-madhesh-pradesh-no-rain.jpg

काठमाडौँ । जेठको तेस्रो साताको जस्तै दिनभरि उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहित आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ। गत शुक्रबार जेठको चौथो साता सुरु भएसँगै सुरु भएको रात्रिकालीन वर्षाको यो क्रम सोमबार राति पनि जारी रह्यो।

यसपालि जेठको तेस्रो साता अत्यधिक गर्मी बढेर जनजीवन निकै कष्टकर बनेको थियो। तर चौथो साता सुरु भएलगत्तै प्रत्येक रात केहीबेर सघन (ठुलो) वर्षा हुन थालेपछि दिनभरिको चर्को गर्मीबाट सर्वसाधारणले केही राहत महसुस गर्न थालेका छन्।

गौशाला–१ रामनगरका ६५ वर्षीय गणेश महतो भन्छन्,“गर्मी त खपीनसक्नु बढेको छ, तर गत शुक्रबारयता प्रत्येक रात वर्षा हुँदै आएको छ। यसले निकै राहत मिलेको छ। निरन्तरको रात्रिकालीन वर्षाले बालीनालीलाई निकै फाइदा पुर्‍याएको छ।”

शुक्रबारयता रातिको समयमा भइरहेको वर्षाका कारण खेतबारीमा प्रशस्त चिस्यान भएपछि महोत्तरीका किसानहरू धमाधम धानको ब्याड राख्न थालेका छन्। बर्दिबास–६ कृष्णपुरका ६० वर्षीय किसान रघु काफ्लेले दिनभर अचाक्ली गर्मी भए पनि प्रत्येक रातको वर्षाले खेतीपातीलाई सजिलो बनाएको बताए। उनले पानी निरन्तर परिरहे पनि हिले ब्याड राख्ने अवस्था नभएकाले माटोको चिस्यानको उपयोग गर्दै 'धुले ब्याड' राखिएको जानकारी दिए। किसानहरूले यही वर्षाको मौका छोपेर धानसँगै कोदोको ब्याडसमेत राख्न सुरु गरेका छन्।

धान र कोदो मात्र नभई यो वर्षा उखु, मकै र तरकारी बालीका लागि समेत अमृत समान भएको किसानहरूको भनाइ छ। यसअघि हिउँदभरि पानी नपर्दा र मुख्य सिजनमै पानीका मुहानहरू सुक्न थाल्दा बालीनाली लगाउन नपाइने हो कि भन्ने ठुलो चिन्ता किसानहरूमा थियो।

जेठको तेस्रो साता सुरु भएसँगै महोत्तरीमा दिनभरिको तापक्रम ३८ देखि ३९ डिग्री सेल्सियसको सेरोफेरोमा पुग्ने गरेको थियो। चर्को गर्मी र तातो हावाका कारण जेठ तेस्रो साताको अन्त्यतिर जिल्लाका स्थानीय तहहरूले धमाधम विद्यालय बन्दको घोषणा गर्ने लहर नै चलेको थियो।

तर, चौथो साता लागेपछि प्रत्येक रात पर्ने पानीले मौसममा केही सुधार ल्याएपछि बन्द गरिएका विद्यालयहरू सोमबारदेखि पुनः सञ्चालन हुन थालेका छन्। बर्दिवास नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाका अधिकृत रमण निरौलाले मौसम अनुकूल बन्दै गएकाले विद्यालयहरू नियमित पठनपाठनमा फर्किएको जानकारी दिए।

पछिल्लो समय दिनहुँजसो राति केहीबेर पानी पर्न थालेपछि यहाँका सर्वसाधारणमा सुख्खा भएका पानीका स्रोतहरू अब चाँडै रसाउने आशा पलाएको छ। भङ्गाहा–४ रामनगरका किसान कुशेश्वर यादवले इनार, चापाकल, नदी तथा खोल्साखोल्सीका मुहानहरूमा पानी रसाउने आस बढेको बताए। मुहानहरू चाँडै रसाएमा मधेसमा हिजोआज देखिन थालेको खानेपानीको चरम समस्या टर्ने र खेतीपातीका लागिसमेत सिँचाइको व्यवस्था गर्न सजिलो हुने विश्वासमा स्थानीय रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ