‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
729
Shares
काठमाडौँ। सरकारले कोदो र अन्य कोदोजन्य बालीहरूको महत्त्व बढाउन र तिनको उत्पादनलाई प्रोत्साहन गर्न आज साउन १६ गते पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउँदै छ। यो दिवस मनाउनुको मुख्य उद्देश्य कोदोजन्य बालीको आयात घटाउनु, साना किसानको आयआर्जन बढाउनु, र देशको खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्नु हो।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा गठित प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समितिले यस वर्षको लागि ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरेको छ।
महानिर्देशक सञ्जेलका अनुसार, यो दिवसले देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनको असर कम गर्न, जैविक विविधता जोगाउन र खाद्य प्रणालीको रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको जनाएको छ, जसको मूल्य ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबर रहेको छ।
दिवसका कार्यक्रम र कोदोको फाइदा
दिवसको अवसरमा चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ, कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायत विभिन्न विधामा पुरस्कार र कदरपत्र वितरण गर्ने कार्यक्रम रहेको छ। प्रदेश र स्थानीय तहहरूले पनि यस अवसरमा विविध कार्यक्रमहरू सञ्चालन गर्नेछन्।
समितिका अध्यक्ष सञ्जेलले कोदोको खेतीमा रासायनिक मलखाद र विषादीको प्रयोग कम गर्दा पनि औसत उत्पादन लिन सकिने बताए। उनले यसबाट हानिकारक हरित ग्यास उत्सर्जन कम गर्न मद्दत पुग्ने र जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विभागले दिवस मनाउनका लागि सबै तयारी पूरा भएको जनाएको छ।