उमालेको पानी मात्र पिउन काठमाडौँ महानगरको आग्रह, अनुगमन तीव्र
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
724
Shares
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बर्खायाममा पानीजन्य सङ्क्रमणको जोखिम उच्च हुने भन्दै उपभोक्ताहरूलाई उमालेको पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ। बर्खाको समयमा जताततै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीहरूले मापदण्डविपरीत पानी बिक्री गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै महानगरपालिकाले यो आग्रह गरेको हो।
कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीजन्य जोखिम कम गर्न महानगरपालिकाले पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको बताए। उनले उपभोक्ताले पनि पानी उमालेर मात्र पिउनुपर्नेमा जोड दिए।
गत असारमा मात्रै गरिएको अनुगमनका क्रममा कामपाले १५९ वटा मापदण्डविपरीत पिउने पानी बोकेका जार नष्ट गरेको न्यौपानेले जानकारी दिए। महानगरपालिकाले पानी भित्र्याउने विभिन्न नाकाहरूमा टोली परिचालन गरी सहरवासीको आवश्यकता पूरा गराउन पानी प्रशोधित सेवा दिने व्यवसायीका सवारीसाधन तथा जारको नियमित अनुगमन गरिरहेको छ।
अनुगमनका क्रममा कुच्चिएका, फुटेका र भित्रको पानी नदेखिने अपारदर्शी जार प्रयोग नगर्न पनि महानगरपालिकाले सबैलाई आग्रह गरेको छ। कमजोरी भेटिएका पानी उत्पादक कम्पनीहरूलाई मापदण्डविपरीत प्रशोधित जार बिक्री नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, र कम्पनीले जारी गरेको बिलबीजक गाडीमा लिएर हिँड्न निर्देशन दिइएको न्यौपानेले बताए।
यसैबीच, काठमाडौँ महानगरपालिकाले हैजा नियन्त्रणका लागि समुदाय तहमा पुगेर नागरिकले पिउने पानीको नमूना परीक्षण गर्ने तयारी गरेको छ। पानीको नमूना परीक्षणसँगै महानगरपालिकाको प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम सुरु गर्ने तयारी भइरहेको कामपा महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि 'फोकल पर्सन' ऋषि भुसालले जानकारी दिए।
उनका अनुसार, विगतको वर्षमा भन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमितजस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्न सक्ने अनुमान गर्दै महानगरपालिकाले नियन्त्रणका लागि काम थालनी गर्न लागेको हो। यसअघिका वर्षहरूमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएका थिए।