arrow

मनसुन सक्रिय हुने पूर्वानुमान

डेढ महिना बित्दा पनि ठूला नदीमा बाढीको खतरा टरेन, मधेसमा न्यून वर्षा [भिडियो]

ठूला नदीहरूमा सामान्य अवस्था, साना नदीहरूमा आकस्मिक बाढीको जोखिम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
binod-parajuli.jpg

काठमाडौँ । नेपालमा मनसुन सुरु भएको करिब डेढ महिना बितिसकेको छ। गत जेठ १५ गते रातिबाट पूर्वबाट मनसुन भित्रिएसँगै ठाउँ-ठाउँमा भीषण वर्षा भई पाँच सय भन्दा बढी विपद्का घटना भएका छन् भने जनधनको ठूलो क्षति पनि भएको छ। तर, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार, देशभरका कुनै पनि ठूला नदीमा बाढीले खतराको तह पार गरेको छैन।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरे पनि अहिलेसम्म ठूला नदीहरूमा बाढीले खतराको तह पार गर्न सकेको छैन। आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरूमा खतराको तहभन्दा बढी बाढी नजाने उनको भनाइ छ। यद्यपि, साना नदीहरूमा ठूलो पानी पर्दा आकस्मिक बाढी आउन सक्ने उनले बताए।

आज पनि गण्डकी, कर्णाली, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा आकस्मिक बाढी आउन सक्ने अनुमान रहेको पराजुलीले जानकारी दिए।

पराजुलीले पछिल्लो डेढ महिनामा मधेस प्रदेशमा सरदरमा करिब ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत मात्रै वर्षा भएको बताएका छन्। हालका दिनहरूमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने उनले जानकारी दिए।

रसुवाको सन्दर्भमा, मंगलबार राति भोटेकोसीमा आएको बाढी सामान्य किसिमको रहेको पराजुलीले स्पष्ट पारे। "करिब रातको १ बजे रसुवागढीको टिमुरेस्थित केन्द्रले ठूलो बाढी आएको बताएको छ। बाढी सानो भए पनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो देखिएको र केही नोक्सान गर्ने भएकाले पनि नदी छेउमा सतर्कता अपनाउन आग्रह गरेका छौँ," उनले भने। पछिल्लो २४ घण्टामा पनि सो क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी तटीय क्षेत्रमा रहेका जलविद्युत् आयोजनाहरूका क्षेत्रमा विशेष गरी सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। हिमताल नफुटेको र वर्षा मात्रैको अवस्थामा मध्यम किसिमको जोखिम रहे पनि ठूलो जोखिम नरहेको र बस्तीहरूमा बाढी पस्ने सम्भावना नरहेको उनले बताए।

जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमानको पछिल्लो शुद्धतालाई हेरेर आगामी तीन दिनसम्मको पूर्वानुमान गरेको छ, जसअनुसार मनसुन सक्रिय हुने देखिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ