नेपाल प्रहरीमा गत वर्ष २३ सय ६९ जनाले राजीनामा दिए, ४७ सय ३५ पद रिक्त [भिडियो]
बजेट खर्च ९६.४५ प्रतिशत
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
1.1k
Shares
काठमाडौं । नेपाल प्रहरीमा गत आर्थिक वर्ष २०८१-०८२ मा २ हजार ३६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। यसरी राजीनामा दिनेहरूमा ४०१ जना सिनियर प्रहरी अधिकृत र १ हजार ९४९ जना अन्य दर्जाका रहेका छन्। आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले यो जानकारी दिएका हुन्।
उनका अनुसार, गत आर्थिक वर्षमा २ हजार ७१७ जना नयाँ नियुक्ति र पदस्थापना भएका छन् भने ७ हजार ४०० जनाको बढुवा र पदस्थापना भएको छ। यस्तै, २१ हजार २२४ जनाको सरुवा भएको छ। ५२३ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएका छन्।
प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएको र २ हजार ७३ जनालाई कारबाही गरिएको जानकारी दिए।
नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ रहेकोमा हाल ४ हजार ७३५ जनशक्ति खाली रहेको पत्रकार सम्मेलनमा बताइयो। यो कुल दरबन्दीको ५.९५ प्रतिशत हो। हाल विद्यमान जनशक्ति ७४ हजार ८०६ (९४.०५ प्रतिशत) रहेको छ। सिनियर अफिसर (प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्म) को जनशक्ति २.८४ प्रतिशत रहेको छ भने प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको छ। तल्लो आधारभूत प्रहरी (वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म) को जनशक्ति ८१.८१ प्रतिशत रहेको छ।
बजेट खर्चका सन्दर्भमा, नेपाल प्रहरीले गत आर्थिक वर्षमा विनियोजित बजेटको ९६.४५ प्रतिशत खर्च गरेको छ। ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार रुपैयाँ विनियोजन भएकोमा ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार रुपैयाँ खर्च भएको हो। २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० रुपैयाँ भने खर्च हुन सकेन। चालु आर्थिक वर्षमा नेपाल प्रहरीलाई ६० अर्ब ९५ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।