डिजिटल नेपाल निर्माणमा लाग्न देउवाको आह्वान [भिडियो]
एआई अब भविष्यको सपना होइन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
631
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रविधिमैत्री, परिवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
देउवाले आजको समय इन्टरनेटको समय भएको र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढ्दै गएको बताए। एआईको प्रयोग बढाउन सके नेपालमा धेरै काम गर्न सकिने उनको भनाइ थियो। उनले कृत्रिम बौद्धिकता (एआई) अब भविष्यको सपना नभएर अहिलेको आवश्यकता भएको र यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए।
सभापति देउवाले भने, "आजको समय नै इन्टरनेटको हो। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगहरू गर्न थालेका छौँ। यसको प्रयोग बढाउन सके नेपाल धेरै अघि बढ्ने कुरा बुझेको छु। हामी धेरै कुराहरू गर्न सक्छौँ, आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा। प्रविधि यहाँ पुगिसकेको छ। कृत्रिम बौद्धिकता, इन्टेलिजेन्स पनि आइसक्यो अब के गर्नुहुन्छ?"
उनले एआईको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा प्रभावकारी रूपमा गर्न आवश्यक रहेको बताए। सूचना र प्रविधिले जनतालाई छिटो, छरितो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको र प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैलीलाई सरल र समावेशी बनाउँदै आएको पनि उनले उल्लेख गरे। "हामी सबै मिलेर प्रविधिमैत्री, परिवर्तनशील, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ," देउवाले थपे।
सभापति देउवाले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको बताए। नेपाली कांग्रेसले सूचना र प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न र प्रविधिमा पहुँच विस्तार गर्न उपयोग गर्ने गरी जनतालाई केन्द्रमा राखेको पनि उनले जानकारी दिए।