क्यानको नयाँ बजेट सार्वजनिक, ३१ अर्ब ४० करोड विनियोजन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
610
Shares
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड ४७ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। गत वर्षको तुलनामा यो बजेट रकम २ अर्ब ७१ करोड ६९ लाखले कम हो।
आज पत्रकार सम्मेलनमार्फत क्यानले स्वीकृत बजेट र कार्यक्रमबारे जानकारी दिएको हो। क्यानले पुँजीगत खर्च बढाएर १२ अर्ब ३९ करोड ७० लाख रुपैयाँ पुर्याएको छ, जुन गत वर्ष ११ अर्ब ५२ करोड २५ लाख रुपैयाँ थियो। कार्य सञ्चालनका लागि भने ६ अर्ब १५ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
क्यानका महानिर्देशक प्रदीप अधिकारीले पुँजीगत खर्च बढाउने र सञ्चालन खर्च घटाउनेमा क्यान केन्द्रित रहेको बताए। उनले प्राधिकरणको आम्दानी बढाउन विमानस्थल शुल्क र यात्रु सेवा शुल्क लगायतका विषयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
महानिर्देशक अधिकारीले क्यानको स्रोत खुम्चिँदै गएको र हरेक वर्ष बजेट घटिरहेको अवस्थामा स्रोत व्यवस्थापनमा विशेष ध्यान दिइने विश्वास व्यक्त गरे। उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को प्रभावकारी सञ्चालनका लागि पनि पहल भइरहेको जानकारी दिए।