नेप्सेमा उच्च अङ्कको वृद्धि: बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब नाघ्यो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
442
Shares
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि सँगै कारोबार रकम पनि बढेको छ। नेप्से परिसूचक ८०.९७ अङ्कले बढेर २,९७३.७० बिन्दुमा कायम भएको हो, जुन २.७९ प्रतिशतको वृद्धि हो।
आज नेप्सेमा ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर १ लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबार पछि बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब १२ करोड रुपैयाँ नाघेको नेप्सेले जनाएको छ।
आज सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.६३ प्रतिशत, जीवन बीमा समूह ४.३६ प्रतिशत, र लघुवित्त समूह ४.०७ प्रतिशतले बढेका छन्। यस्तै, बैंकिङ २.१० प्रतिशत, विकास बैंक २.२६ प्रतिशत, वित्त १.९४ प्रतिशत, होटल तथा पर्यटन ३.४४ प्रतिशत र जलविद्युत् समूह १.९० प्रतिशतले बढेको छ।
लगानी ३.३४ प्रतिशत, म्युचुअल फन्ड ०.५६ प्रतिशत, निर्जीवन बीमा २.५६ प्रतिशत, व्यापार १.०१ प्रतिशत र अन्य समूह ३.२६ प्रतिशतले बढेको नेप्सेको तथ्यांकमा उल्लेख छ।
आजको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, सान्भी इनर्जी लिमिटेड लगायतका कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने एलबीबीएल डिबेन्चर–२०८९ ३.९४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ करोड ८८ लाख ८५ हजार ७४५ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सनराईज फोकस्ड इक्विटी फन्डको २२ लाख ३७ हजार ३९५ कित्ता शेयर खरिदबिक्री भएको छ।