केपीले गराए विद्यासँगको भेटबारे जानकारी, पार्टी विभाजन गराउन सक्रिय तत्त्वहरूबाट जोगिन आव्हान [भिडियो]
एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
794
Shares
काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउन केन्द्रीय कमिटीका सदस्यहरूलाई आग्रह गरेका छन्। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टी विभाजन गराउन सक्रिय तत्वहरूबाट एमालेलाई जोगाउन सिंगो पार्टी पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष ओलीले आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे केन्द्रीय कमिटीलाई जानकारी गराएका छन्। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, ओलीले भण्डारीसँग राष्ट्रिय राजनीति, सरकारका कार्यसम्पादन, एमालेमाथि भइरहेका प्रहार, र आगामी विधान महाधिवेशनको तयारी लगायतका विषयमा खुला रूपमा छलफल भएको बताएका छन्। भण्डारीकै आग्रहमा १० वर्षपछि पार्टी कार्यालयमा भेट भएको उल्लेख गर्दै ओलीले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउने वा नआउने विषयमा पार्टीको तर्फबाट स्पष्ट दृष्टिकोण राखेको जानकारी गराएका छन्। उनले पार्टी सदस्यताको विषयमा कुनै विवाद नरहेको र केन्द्रीय कमिटीले यसबारे निर्णय गर्ने स्पष्ट पारेका छन्।
बैठकमा एमालेको पार्टी सदस्यता १ लाख ३९ हजारले वृद्धि भई २८ प्रतिशत पुगेको जानकारी गराइयो। यो वृद्धिले पार्टी सांगठनिक रूपमा थप मजबुत भएको देखाएको गौतमले बताएका छन्। अध्यक्ष ओलीले 'मिसन ०८४' अन्तर्गत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्यका साथ अघि बढ्न पार्टी पंक्तिलाई एकताबद्ध भएर प्रस्तुत हुन निर्देशन दिएका छन्। उनले नेताहरूलाई आ-आफ्ना धारणा खुलस्त राख्न पनि आग्रह गरेका छन्।
अध्यक्ष ओलीले पार्टीमा वैचारिक वा नीतिगत रूपमा कुनै विवाद नरहेको दाबी गर्दै, बाहिरी तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमण गरिरहेकोले त्यसको सामना गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। उनले ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने प्रावधानका सम्बन्धमा सचिवालय र पोलिटब्युरोका सबै सदस्यहरू सहमत रहेको बताएका छन्। यस विषयमा कसैको पनि फरक मत नरहेको उनको भनाइ छ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै, आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा पनि छलफल हुनेछ। ओलीले नेपालको विकसित राजनीतिक घटनाक्रम, एमालेमाथि चौतर्फी आक्रमणको निशाना, र यसबारे कसरी अघि बढ्ने भन्नेबारेमा पनि विश्लेषण प्रस्तुत गरेका छन्।