एकीकृत समाजवादीमा गए वामदेव, भने- मेरा आन्दोलनहरू कहिल्यै असफल भएनन् [भिडियो]
चार वर्ष लाग्यो त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु धेरै कमरेडहरूलाई सँगै ल्याएको छु
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
890
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको कुनै पनि आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गरेका छन्। नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन्।
गौतमले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सधैँ सफल मात्रै भएको जिकिर गरे। एक्लै हुँदा सफल हुन नसकेको स्वीकार गर्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी) मा आएको उनले बताए। उनले नेपालमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
"आज म एक्लै आएको छैन। एक्लै आउँदा कहिल्यै पनि सफल भइनँ," उनले भने, "चार वर्ष लाग्यो। त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु। धेरै कमरेडहरूलाई सँगै ल्याएको छु।"
गौतमले छरिएर रहेका कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए। आवश्यकता परेमा ’यी हातहरू हतियारको रूपमा प्रयोग हुने’ र ’हतियारको रूपमा प्रयोग गर्ने’ उनको भनाइ थियो। "म आन्दोलनको नेता हुँ। मैले जिम्मा लिएको आन्दोलन अहिलेसम्म असफल भएकै छैन। सफलता मात्रै प्राप्त भएको छ," उनले थपे।
नेता गौतमले नेपाली जनतालाई मालिक बनाएर छोड्ने प्रतिबद्धता पनि व्यक्त गरे।