‘कुलिङ पिरियड’ जालझेलको नैतिक जिम्मेवारी सभामुखले लिनुपर्छ: माओवादी केन्द्र [भिडियो]
"गम्भीर विश्वासघात" हुनुका साथै यस प्रकारको जालसाझीले संसदीय मूल्यमान्यतालाई ठाडो चुनौती दिएको माओवादीको ठहर
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
822
Shares
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले ‘कुलिङ पिरियड’ सम्बन्धी विधेयकमा भएको ‘जालझेल’ को नैतिक जिम्मेवारी संसदको नेतृत्व (सभामुख देवराज घिमिरे) ले लिनुपर्ने बताएको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो माग गरेका हुन्।
प्रवक्ता सापकोटाले ‘कुलिङ पिरियड’ समितिमा भएको सहमतिअनुसार सदनमा जान नसकेको बताए। यस घटनाले "सिंगो सदन, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको" उनको भनाइ छ। उनले यसलाई "गम्भीर राजनीतिक, संवैधानिक, कानूनी र नैतिक प्रश्न" को संज्ञा दिए।
"कुलिङ पिरियडसम्बन्धी जे सहमति भएको थियो। सदनमा प्रस्तुत पारित हुँदा फरक गरिएको छ," सापकोटाले भने, "समितिमा पारित भइसकेको विषय सदनमा कसरी फरक बनाएर लगियो? परस्पर विरोधी प्रावधान कसले थप्यो? यस्ता अनेकन गम्भीर प्रश्न उठेका छन्।"
सापकोटाले यस घटनाले सार्वभौम संसदको आत्मामाथि प्रहार गरेको, संसदमाथिको धोका र मानमर्दन भएको बताए। सुशासनका लागि कोसेढुंगा साबित हुने जनताको अपेक्षा विपरीत "गम्भीर विश्वासघात" हुनुका साथै यस प्रकारको जालसाझीले संसदीय मूल्यमान्यतालाई ठाडो चुनौती दिएको माओवादीको ठहर छ।
"विधेयक कार्यसूचीदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुःसाहस होइन। यो नै सुनियोजित तरिकाले गरिएको धृष्टता हो," सापकोटाले जोड दिए। उनले नैतिक रूपमा संसदको नेतृत्वले समेत यसको जिम्मा लिनुपर्ने बताए। प्रवक्ता सापकोटाले यस प्रकारको गम्भीर अपराधको यथासक्य छिटो छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीउपर कारबाही गर्न माग गरे।
यसका साथै, माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग भएको सहमतिअनुसार पारित गर्न पनि माग गरेको छ।