ऊर्जामन्त्री खड्का चीन भ्रमणबाट स्वदेश फिर्ता, ऊर्जा सहकार्यमा छलफल भएको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
817
Shares
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससीओ) द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजित पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर गए राति स्वदेश फर्केका छन्।
मन्त्री खड्काले आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको र बैठकमा चीनसँग ऊर्जा सहकार्यका विषयमा विभिन्न छलफल भएको बताएका छन्। उनले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानका लागि प्रतिबद्ध रहेको जनाउँदै बैठकमा नेपालले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्यका बारेमा अवगत गराएको बताए।
"ऊर्जा अब व्यापारको विषयमात्र होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो," मन्त्री खड्काले भने, "नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकका रूपमा अगाडि बढाउने योजना बनाएको छ।"
असार ९ गतेदेखि १३ गतेसम्म चलेको उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उज्बेकिस्तानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता रहेको थियो।
मन्त्री खड्काले चीनमा रहँदा त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गरेका थिए। मन्त्री खड्का उक्त बैठकमा भाग लिन असार ९ गते राति चीन प्रस्थान गरेका थिए।