कम्युनिष्ट आन्दोलनमा विचलन आएको प्रचण्डको भनाइ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
771
Shares
भक्तपुर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा विचलन आएको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको उल्लेख गरे।
अध्यक्ष दाहालले कम्युनिष्ट पार्टी स्थापना हुँदा जुन आदर्श, समर्पण भाव, त्याग र तपस्याका साथ जनताको सेवा गर्ने र वर्गको मुक्तिका लागि आफूलाई समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो, त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको जिकिर गरे। उनले भने, "हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आजभोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ।"
प्रचण्डले अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताए। उनले पार्टीले गएको केन्द्रीय समितिको बैठकमा पनि यो अवस्था बढी नै भएको र आफ्नो विचार, राजनीतिक मुद्दा, वर्ग र समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरूको मुक्तिका निम्ति समर्पित हुनुपर्ने हो त्यस्तो नभएको स्वीकार गरे।
अध्यक्ष दाहालले यही अवस्था चलिरहे कम्युनिष्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने चेतावनी पनि दिए।