नेपालको डिजिटल स्वास्थ्य पहललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै स्वास्थ्यमन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
814
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डको बैंककमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकमा नेपालले डिजिटल स्वास्थ्य क्षेत्रमा गरिरहेका महत्त्वपूर्ण प्रयासहरूबारे विश्व समुदायलाई जानकारी गराएका छन्।
मन्त्री पौडेलले हाल छरिएर रहेको नागरिकको स्वास्थ्य तथ्याङ्कलाई एकीकृत गर्न नेपालले नीतिगत निर्णय गरी सुधारका प्रयासहरू थालिसकेको बताए। उनले नागरिक परिचयपत्रमा जनसङ्ख्यासम्बन्धी जानकारी आबद्ध गर्न थालिएको र स्वास्थ्यसम्बन्धी विवरणलाई समेत जोडेर एकीकृत तथ्याङ्क सङ्कलनको काम भइरहेको स्पष्ट पारे।
एकीकृत तथ्याङ्कको अभावमा नीति निर्माणमा देखिएका समस्याहरू अब व्यवस्थित हुने अपेक्षा गर्दै, मन्त्री पौडेलले डिजिटल स्वास्थ्य सुधारमा अन्तर मन्त्रालयस्तरीय सहकार्यलाई अझ व्यापक बनाउने बताए।
सम्मेलनका क्रममा राष्ट्रसङ्घका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्तामा मन्त्री पौडेलले डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइहरू समेत हुने भएकाले राष्ट्रसङ्घका निकायहरूबाट सहयोगको अपेक्षा व्यक्त गरे।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भइरहेका प्रयासहरूमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने हौसला मिलेको जानकारी दिए। उनले जनसङ्ख्या नीति चाँडै ल्याउने गरी मन्त्रालयले काम गरिरहेको र यसमा डिजिटल प्रणालीले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपालको यो पहलले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।