गैरकानूनी रूपमा विदेशमा बस्ने नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह: अब कानूनी प्रक्रिया अपनाउनुहोस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
757
Shares
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गरेकी छिन्। बिहीबार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
मन्त्री देउवाले २०२४ को सेप्टेम्बरपछि गैरकानूनी रूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पारिन्। उनले विदेश जाने सबैलाई कानुनी रूपमै जान आग्रह गरिन्। "यसको हामीले कट अफ डेट यहीँ कारणले राखेका छौँ सेप्टेम्बर २०२४ पछि जानेहरूलाई हामी लिगलाइज गर्न सक्दैनौँ। यो बारम्बार खोल्न पनि खोलिँदैन। अब गइदिनेहरू प्लिज लिगल रूपमा गइदिनुस्," उनले भनिन्।
मन्त्री देउवाले श्रम सञ्चार एपमा सरकारी सम्झौता गरेर पठाएका कामदारहरूलाई राख्ने भन्ने कुरा उठेको बताइन्। उनले महिला श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले यो पहल सुरु गरेको स्पष्ट पारिन् र सरकारी तहबाट पठाइने कामदारहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
उनले कुन देशमा कति नेपाली छन् भन्ने थाहा पाउन र सम्पर्क बिन्दु बनाउनका लागि प्रयास गरिरहेको बताइन्। यो परीक्षण सफल भएमा विदेशमा रहेका नेपालीहरूको बारेमा सम्बन्धित देशका दूतावासहरूलाई जानकारी गराउने उनले जिकिर गरिन्।