काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा भइरहेका ठगीका घटनाहरू सरकारका लागि गम्भीर चुनौती बनेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन्।
मन्त्री भण्डारीले श्रमिक ठगिएको निवेदनको अध्ययनका आधारमा ठगीमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। उनले विदेश जान लालायित नेपाली युवाहरूलाई अवैध एजेन्ट र दलालहरूले लुट्ने क्रम नरोकिएका कारण यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारले अनुसन्धान संयन्त्रलाई सक्रिय बनाएको उल्लेख गरे।
उनले वैदेशिक रोजगारका लागि दक्ष र अर्धदक्ष नेपाली श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत तवरबाट पठाउने तयारी भइरहेको समेत जानकारी दिए। आगामी जुलाई महिनादेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया सुरु हुने उनले बताए।
"वैदेशिक रोजगार नीतिअनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ," मन्त्री भण्डारीले भने, "यही जुलाई महिनाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको छ। उच्च मानव अधिकार भएका मुलुकहरूमा श्रमिक पठाउनको लागि तयारी भएको छ।"
मन्त्री भण्डारीले वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी मन्त्रालयको ठूलो चिन्ताको विषय बनेको दोहोर्याउँदै उजुरी परेको खण्डमा नेपाल सरकारको अनुसन्धान संयन्त्रले कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई प्रयोग गर्नेगरी पुनः एकीकरण कार्यक्रम र सुरक्षित आप्रवासन कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी गराए।