मध्यपूर्वमा जारी युद्ध रोक्न विश्वले पहल गर्नुपर्नेमा सांसद अर्यालको जोड
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
1.8k
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मध्यपूर्वमा जारी गतिविधिले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने भन्दै यसलाई रोक्न सबै देशहरूले तत्काल पहल गर्नुपर्नेमा जोड दिएकी छन्। सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले इजरायल र इरानबीचको युद्धमा अमेरिकाले समेत आक्रमण गरेसँगै गम्भीर खतरा बढेको बताएकी हुन्।
सांसद अर्यालले विश्व शान्तिमा यस प्रकारका गतिविधिले नयाँ खतरा मडारिएको भन्दै शक्तिसम्पन्न राष्ट्रहरूले विपन्न राष्ट्रहरूमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने धारणा राखिन्। उनले मानिसहरू सुतिरहेको अवस्थामा रातको समयमा थाहै नदिई शक्तिको दम्भले भइरहेका आक्रमणहरू निन्दनीय रहेको स्पष्ट पारिन्।
"इरानमा आक्रमण भइरहेको छ, पहिले इजरायलले र त्यसपछि अमेरिकाले आक्रमण गर्यो," उनले भनिन्, "प्यालेस्टाइनमा बच्चाहरू र महिलाहरू भोकभोकै खाना खाने ठाउँमा जाँदा पनि आक्रमण भइरहेको छ। यो तेस्रो विश्वयुद्ध निम्त्याउने किसिमको जुन गतिविधि भइरहेको छ, यसलाई तुरुन्त रोक्न सबै देशहरूले पहल गर्नुपर्ने आवश्यकता देखेको छु।"
सांसद अर्यालले विश्वले आणविक शक्ति र ध्रुवीकरणको बाटो छोडेर विश्व शान्तिका लागि प्रयत्न गर्नुपर्ने समय आएकोमा जोड दिइन्।