निर्वाचन प्रणाली नबदलेसम्म बजेट विनियोजन सही हुँदैन: माओवादी सांसद शाही
बजेटप्रति प्रतिपक्ष भन्दा सत्तापक्षका सांसदहरु बढी असन्तुष्ट छन्
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
1.8k
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा देखिएका समस्याको मूल कारण हालको निर्वाचन प्रणाली भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथि भएको छलफलका क्रममा उनले निर्वाचन प्रणाली नबदलेसम्म बजेटमा सुधार आउन नसक्ने जिकिर गरे।
सांसद शाहीले निर्वाचनमा जाँदा सांसदहरूले विद्यालय, सडक, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य र रोजगारी सिर्जना गर्ने जस्ता तमाम विकास निर्माणका वाचा गरेर जनताबाट निर्वाचित भएर आउने तर बजेटमा ती क्षेत्रलाई प्राथमिकता नदिइने समस्या औंल्याए।
"यो निर्वाचन प्रणाली नै बदलौँ। निर्वाचन प्रणाली नबदलीकन बजेट बदलिँदैन," उनले भने, "यो परम्परागत भइरहन्छ। किनभने यो बजेट बनाउने दबाब त्यही हो। सरकारलाई आउने दबाब भनेकै निर्वाचन प्रणालीकै दबाब हो।"
शाहीले बजेटप्रति प्रतिपक्षभन्दा पनि बढी असन्तुष्टि सत्तापक्षका सांसदहरूमा रहेको दाबी गरे। सरकारले सत्तापक्षका सांसदहरूलाई खुसी पार्न धेरै कोसिस गरे पनि सफल हुन नसकेको उनको भनाइ थियो।
सांसद शाहीले राष्ट्र निर्माणमा अर्थमन्त्रीको सबैभन्दा ठूलो भूमिका हुने जिकिर गर्दै बजेट विनियोजनमा सुधारका लागि निर्वाचन प्रणालीमा नै परिवर्तन आवश्यक रहेकोमा जोड दिए।