सरकारले सदनलाई हेपेको माओवादी केन्द्रका प्रमुख सचेतकको आरोप [भिडियो]
कार्यसूचीमाथि प्रश्न र मन्त्रीहरूको अनुपस्थिति
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
774
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले प्रतिनिधि सभालाई ‘हेपेको’ आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएपछि पाण्डेले यस्तो आरोप लगाएका हुन्।
पाण्डेले पटकपटक कार्यसूची आउने र फेरि हटाइने क्रम जारी रहेको भन्दै आपत्ति जनाए। उनले यसको कारण सोध्दा मन्त्रीहरूको अनुपस्थितिलाई औँल्याइएको बताए। "सरकारले यो सदनलाई यत्ति हेपेको छ। यसको बयान गरी साध्य छैन। बारम्बार हामीलाई कार्यसूची आउँछ। फेरि कार्यसूची हटाइन्छ। कारण सोध्दा मन्त्रीको उपस्थिति छैन," पाण्डेले भने।
सदनमा लामो समयदेखि आन्दोलन भइरहे पनि सरकार बेखबर रहेको उनको भनाइ थियो। पाण्डेले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने भन्दै प्रश्न गरे। "सदनमा आन्दोलन भएको यत्रो समय भयो। त्यसको जवाफदेही पनि छैन। सम्माननीय प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुभयो। आजको कार्यसूचीमा पनि मन्त्रीहरू सबै उपस्थित हुनुहुन्न। यो विषयवस्तु संसदले नै हेर्नुपर्ने विषयवस्तु हो। मन्त्रीहरूको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन। यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो। नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने। कहाँसम्मको अन्याय हो यो," उनले भने।
पाण्डेले बजेट पुस्तिका नआउँदा खर्च कटौतिको प्रस्ताव दिन नपाएको गुनासो पनि गरे।