‘दल र कार्यकर्ता पोस्न जथाभाबी बजेट विनियोजन’: शक्तिबहादुर बस्नेत
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
1.8k
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले शुक्रबार प्रतिनिधिसभा बैठकमा राजनीतिक दल र तिनका कार्यकर्तालाई पोस्ने गरी बजेट जथाभाबी विनियोजन भएको आरोप लगाएका छन्।
सांसद बस्नेतले सबै मन्त्रालयहरूको बजेट विनियोजनको प्रकृति हेर्दा आवधिक योजना र संवैधानिक व्यवस्थाहरूलाई आधार नबनाइएको भन्दै आपत्ति जनाए। उनले सरकारले राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीबोध नगरी बजेट ल्याएको दाबी गरे।
"यो सबै दृष्टिकोणले हेर्दा खेरी दललाई पोस्ने, कार्यकर्तालाई पोस्ने र आ–आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित छ," बस्नेतले भने। उनले वैकल्पिक सहायक राजमार्गदेखि कोरिडोरका विषयहरूमा समेत बजेटको जथाभाबी विनियोजन भएको टिप्पणी गरे।
सांसद बस्नेतले बजेटको जथाभाबी विनियोजन र सरकारको स्वेच्छाचारी व्यवहारको विरोधस्वरूप विरोधको प्रस्ताव दर्ता गरेको समेत जानकारी दिए।