arrow

ऊर्जामन्त्रीद्वारा कर्मचारीको कार्यशैलीको आलोचना: समयमै सुधार गर्न चेतावनी [भिडियो]

कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ?, विदेश भ्रमण र औपचारिकतामा समय खर्चिने तर प्रगति शून्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
deepak-khadkas-03.jpg

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कर्मचारीहरूको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। उनले कर्मचारीमा कामप्रति समर्पण नदेखिने प्रवृत्ति प्रति गम्भीर चिन्ता व्यक्त गरे।

मङ्गलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले समयमै सुधार नगरे हालको ढिलासुस्तीले देशलाई जटिल मोडमा पुर्‍याउने चेतावनी दिए। उनले व्यक्तिगत जिम्मेवारीबारे आत्मसमीक्षा गर्न पनि कर्मचारीहरूलाई सुझाव दिए।

मन्त्री खड्काले कर्मचारीहरूले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि कार्यसम्पादनको सन्दर्भमा खासै प्रगति नदेखिएको गुनासो गरे। उनले काममा प्रतिबद्धता, परिणाममुखी सोच र स्वाभिमानी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरूलाई आग्रहसमेत गरे।

"तपाईंहरू लामो समयदेखि यहीँ काम गरेको कर्मचारी साथीहरू हुनुहुन्छ। यस्ता बजेट र खर्चहरू तपाईंहरूले पटकपटक हेरिसक्नुभयो," उनले भने, "सुधार गर्ने ठाउँमा तपाईंहरू हुनुहुन्छ। तपाईंको जिम्मेवारीप्रति प्रश्न गरिराख्नुपर्ने कत्तिको मजाकको कुरा होला? आफैँले आफैँलाई बेलुका यसो सुतेर मेरो मातहतमा के भयो भनेर सम्झिनुभयो भने के भन्नुहुन्छ, आफैँलाई?"

उनले यस्तो खालको अवस्थाले देशलाई कहाँ पुर्‍याउँछ भन्दै प्रश्न गरे। "आफ्नो काम के हो? आफ्नो लगाव के हो? उपलब्धि कसरी हासिल गर्ने भन्ने कुरामा ध्यान नदिने अनि भन्न पनि अप्ठ्यारो क्या," उनले थपे, "विदेश जाने भनेपछि आज आइहाले पनि भोलिपल्टै भए गइहाल्ने जस्तो छ, रिफ्रेसमेन्टमा हामी हिँडिरहने प्रगति चाहिँ नहुने।"

मन्त्री खड्काले चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बताए। उनले प्रतिबद्धता र लक्ष्यअनुरूप कार्यसम्पादन हुन नसक्नु पनि चिन्ताको विषय भएको जिकिर गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ