सत्तारुढ दलहरू एक अर्कालाई सिद्ध्याउने मानसिकताले अघि बढे- देव गुरुङ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
505
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाएका छन्।
मङ्गलबार काठमाडौंमा आयोजित 'बेपत्ता पारिएका नागरिकको सार्वजनिकीकरणको प्रश्न' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले राज्यको नेतृत्वकर्ताहरू शान्ति र मेलमिलापको विरोधमा क्रियाशील रहेको आरोप लगाए। उनले देशलाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर नेपाललाई सामरिक क्रीडास्थल बनाउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गरे। दलीय स्पर्धाको नाममा सत्तामा रहेका दलहरू एकअर्कालाई सिध्याउने र ध्वंस गर्ने मानसिकताले अघि बढिरहेको समेत उनले आरोप लगाए।
गुरुङले भने, "मुलुकमा अहिलेको समस्या विकसित हुनुको कारण राज्यसत्ताको नेतृत्व गर्ने र राज्यसत्ताभित्रको कोर टिम सर्वसत्तावादमा फस्न पुगेको कारणले हो। त्यसकारण त्यो सर्वसत्तावादी तथा एकाधिकारवादीले कतैपनि शान्ति स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने, सहमति कायम गर्न नदिने तथा एकले अर्कोलाई विस्थापित गर्ने ढंगले अघि बढ्ने दिशातर्फ गइरहेको छ।"
उनले थपे, "र नेपाललाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर सामरिक दृष्टिकोणले नेपाललाई क्रीडास्थल बनाउन खोजिरहेको छ। यो चिन्तन प्रवृत्तिले समस्या पैदा भएको छ। यसको विरुद्धमा नेताहरू लड्न सके कि सकेनन् समीक्षा गर्न जरुरी छ। सत्ता सञ्चालन गर्ने नेताहरू सर्वसत्तावादी एकाधिकारको लोभबाट मुक्त हुन सक्नु भएन। त्यसले गर्दाखेरि दलीय स्पर्धाको नाममा एकले अर्कोलाई सिध्याउने र ध्वंस गर्ने दिशातर्फ गइरहेको देख्नुभएकै छ।"
महासचिव गुरुङले सर्वसत्तावादी तथा एकाधिकारवादीले कतैपनि शान्ति स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने सोचका साथ अघि बढिरहेको टिप्पणी गर्दै सबै सचेत हुने बेला आएको बताए।