'रोजगारी छैन, भूमाफियालाई पोसिँदै, मान्छे बेचेर देश चलाउने अवस्था'
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
624
Shares
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी आर्थिक वर्षको बजेटलाई ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गरेका छन्। उनले यो बजेटले आम जनतालाई खुशी बनाउन नसकेको र यसको स्वामित्व जनताले लिन नसक्ने बताए।
आज प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै अध्यक्ष केसीले बजेट मुठीभरका थैलीवालहरूका लागि मात्र बनेको दाबी गरे।
केसीले हरेक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुने भए पनि उनीहरूलाई रोजगारी दिनेगरी बजेटमा कुनै कार्यक्रम समावेश नगरिएको बताए। रोजगारी सिर्जना गर्नसक्ने मुख्य क्षेत्र कृषिमा अझै सामन्ती भूस्वामित्व कायम रहेको भन्दै किसानको सट्टा भूमाफियालाई पोस्नेगरी बजेट ल्याइएको उनको आरोप छ।
उनले भने, "प्रत्येक वर्ष बजेट प्रस्तुत हुँदा आम नेपाली जनतालाई कौवालाई बेल पाक्यो हर्ष न विस्मात भएको छ। यो बजेटले आम नेपाली जनतालाई खुशी बनाउन सकेको छैन। आम जनता खुशी नहुने बजेटको स्वामित्व पनि आम नेपाली जनताले लिनसक्ने कुरा पनि भएन। त्यो अवस्थामा यो बजेट मुठीभरका थैली शाह वर्गका निमित्त बनेको हो भन्दा फरक पर्दैन।"
केसीले दूध र मासुमा केही हदसम्म मुलुक आत्मनिर्भर हुँदै गइरहेको अवस्थामा समेत आयातको लागत कम गराएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको आरोप लगाए। यसका लागि कृषिजन्य, दूधजन्य, वनस्पतिजन्य, मासुजन्य वस्तुको आयातमा लाग्ने अग्रिम कर हटाएर विदेशी आयातको लागत कम गराउन खोजिएको उनको भनाइ छ।
"रोजगारी सिर्जना गर्ने अर्को क्षेत्र उद्योग हो। विगतमा नेपाल सरकार तथा मित्रराष्ट्रबाट स्थापना गरिएका सार्वजनिक मोडलमा सञ्चालित जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, उदयपुर सिमेन्ट उद्योगलाई बिक्री गर्ने भनेर यसै बजेटमा परेको छ। राज्यमा भएका उद्योगहरू निजीलाई बिक्री गरिरहेको सन्दर्भमा नयाँ उद्योग खोल्ने नीतिबाट राज्य पछि हट्दै गइरहेको स्थितिमा उद्योग क्षेत्रले पनि नयाँ रोजगारी सिर्जना गर्नसक्ने प्रश्न भएन," उनले भने।
अन्तमा, उनले सरकारले हरेक वर्ष नेपाली युवाहरूबाट कमिसन खाएर वैदेशिक रोजगारीका लागि विदेश पठाउने र तिनै युवाहरूले पठाएको रेमिट्यान्सबाट संसद र तीनै तहको सरकार चलाउने गरेको बताए। यसले 'मान्छे बेचेर देश चलाउने' अवस्था सिर्जना गरेको उनको आरोप थियो।
सरकारले बजेट संशोधन नगर्ने थाहा हुँदाहुँदै पनि जनताका बीचमा बजेटको विषय पुगोस् भनेर आफू बजेटमाथिको छलफलमा भाग लिने गरेको केसीले स्पष्ट पारे।