सरकारले अनुशासित बजेट ल्याएको सांसद गिरीको दाबी: 'साना आयोजना सङ्घमा नराख्नु ठूलो उपलब्धि'
लोकरिझ्याइँ अन्त्य, परिणाममुखी बजेट
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
2k
Shares
काठमाडौँ। नेकपा (एमाले) का सांसद पदम गिरीले सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्याएको बताएका छन्। उनले राष्ट्रिय योजना आयोगले तोकेको सीमाभित्रै रहेर बजेट प्रस्तुत गरिएको दाबी गर्दै यसले भविष्यमा योजना कार्यान्वयन र पुँजीगत खर्च बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै गिरीले भने, "राष्ट्रिय योजना आयोगले दिएको जुन बजेटको सीमा थियो, १९ खर्ब ७५ अर्बको सीमाभित्र बसेर १९ खर्ब ६४ अर्ब बजेट ल्याउने काम सरकारले गरेको छ। यसमा पनि योजना आयोगको सीमालाई सरकारले क्रस गर्ने काम गरेन।"
सांसद गिरीले बजेटमा कायम गरिएको अनुशासनले भविष्यमा योजना कार्यान्वयन, पुँजीगत खर्च वृद्धि र बजेटलाई परिणाममुखी तथा उत्पादनमुखी बनाउन सकिने विश्वास दिलाएको बताए।
उनले विगतमा आयोजना छनोट गर्दा गरिने लोकरिझ्याइँको कामले १८ हजार आयोजनाहरूलाई समयमा कार्यान्वयन गर्न नसकिएको स्मरण गराए। विगतबाट शिक्षा लिँदै, नेपालको संविधान, कार्य विस्तृतीकरण प्रतिवेदन र सरकारको आयोजना वर्गीकरण मापदण्डअनुसार ३ करोडभन्दा साना आयोजनाहरू सङ्घीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीति अनुरूप बजेट प्रतिबिम्बित भएर आएको उनले दाबी गरे। गिरीले यसलाई ठूलो उपलब्धि भएको बताए।
उनले भने, "आयोजना छनोट गर्दा विगतमा जुन प्रकारको लोकरिझ्याइँको काम हामीले गर्ने गथ्र्यौँ, १८ हजार आयोजनाहरू जुन किसिमले हामीले किताबमा समावेश गर्यौँ, त्यसलाई हामीले समयमा कार्यान्वयन गर्न सकेनौँ। त्योबाट शिक्षा लिँदै नेपालको संविधान, कार्य विस्तृतीकरण प्रतिवेदन र सरकारको आयोजना वर्गीकरण मापदण्डअनुसार ३ करोडभन्दा साना आयोजनाहरू सङ्घीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीति अनुरूप बजेट प्रतिबिम्बित भएर आएको छ। यो निकै ठूलो उपलब्धि हो।"
उनले भविष्यमा बजेट निर्माणको क्रममा पनि अनुशासनको सीमाभित्र बसे देशको अर्थतन्त्रलाई नयाँ लयमा लैजान सकिने विश्वास व्यक्त गरे।