बङ्गलादेशसँगको विद्युत् व्यापारमा नेपाल आर्थिक जोखिममा छैन: ऊर्जामन्त्री खड्का
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
636
Shares
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बङ्गलादेशसँगको विद्युत् व्यापारमा नेपाल कुनै आर्थिक जोखिममा नरहेको स्पष्ट पारेका छन्।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले बङ्गलादेशले अघिल्लो वर्षको विद्युत् भुक्तानी समयमै गर्न नसकेको स्वीकार गर्दै त्यो बैङ्क ग्यारेन्टीको दायराभित्र पर्ने जिकिर गरेका हुन्। उनले भारत र अडानी ग्रुपसँगको सम्झौता जस्तो संवेदनशील अवस्था नेपाल र बङ्गलादेशबीच नरहेको दाबी गरे।
मन्त्री खड्काले २८,५०० मेगावाटको लक्ष्य प्राप्तिका लागि प्रक्रियागत सुधारका कामहरू भइरहेको जिकिर गर्दै लक्ष्य प्राप्तिमा कुनै समस्या नहुने दाबीसमेत गरे।
उनले भने, "बङ्गलादेशले विद्युत्को पैसा तिर्न सकेको छैन, लास्ट इयर पनि तिरेको छैन भन्ने कुरा, हाम्रो सम्झौतामै छ, हामीहरूले बैङ्क ग्यारेन्टी लिएर दिन्छौँ। लास्ट इयर एक दिनको मात्रै भएको कारणले त्यो पनि हामीकहाँ बैङ्क ग्यारेन्टी भित्रै पर्छ। हाम्रो त्यस्तो इन्डियासँगको जस्तो, अडानी ग्रुपसँगको जस्तो छैन। हामी यसमा सुरक्षित छौँ, लेनदेनको विषयमा।"
ऊर्जामन्त्री खड्काले थपे, "२८ हजार ५०० को लक्ष्य र काम गराइ भएन भन्ने होइन। यसमा धेरै प्रक्रियागत कुराहरूको सुधार भइसकेको छ। हामीले कमिटी नै बनाएर काम गरिरहेका छौँ। भएका आयोजनाहरू सबैलाई बाहिर ल्याउने, सबैको काम गराउने। हामीसँग ठूलाठूला आयोजनाहरू पनि, एउटै आयोजना हामीले अहिले सम्पन्न गर्दै गर्दा पनि २५ सय मेगावाटका आयोजनाहरू, ४-५०० हजार मेगावाटका आयोजनाहरू पनि छन्। यिनमा पनि काम भइरहेको छ। लक्ष्य प्राप्तिमा समस्या हुन्छ जस्तो हुँदैन।"
नेपालले आज आइतबारदेखि बङ्गलादेशमा व्यावसायिक रूपमा पहिलो पटक विद्युत् निर्यात सुरु गरेको छ। आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरी भारतमा दश हजार मेगावाट र बङ्गलादेशमा ५ हजार मेगावाट गरी १५ हजार मेगावाटभन्दा बढी विद्युत् निर्यात गर्ने नेपालले लक्ष्य लिएको छ।