arrow

दक्षिण अफ्रिकालाई पहिलो आईसीसी उपाधि, टेष्ट च्याम्पियनशिप जित्न सफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३१ शनिबार
sa-win-first-trophy.jpg

काठमाडौँ । क्रिकेटको सबैभन्दा अभागी टिम भनेर प्रमाणित हुँदै आएको दक्षिण अफ्रिकाले पहिलो पटक आईसीसी उपाधि जित्न सफल भएको छ । 

दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलमा पुगेको आईसीसी वल्ड टेष्ट च्याम्पियनशिप जित्न सफल भएको हो ।

दक्षिण अफ्रिकाले २७ वर्षपछि कुनै आईसीसी उपाधि जितेको हो । दक्षिण अफ्रिकाले सन् १९९८ मा च्याम्पियन्स ट्रफी जितेको थियो । त्यो नै अहिलेसम्मको ठूलो उपाधि थियो । 

दक्षिण अफ्रिकाले एक दिवसीय विश्वकपको सबैभन्दा सफल र एक पटक टेष्ट च्याम्पियनशिप जितिसकेको अष्ट्रेलियालाई फाइनलमा सहजै पराजित गर्दैै उपाधि जितेको हो । 

इङ्गल्याण्डको लर्डस मैदानमा भएको फाइनलमा दक्षिण अफ्रिकाले चौथो दिनमै खेल ५ विकेटले जितेको हो । 

२८२ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा पूरा गरेको हो । 

आइडेन मार्करमले शानदार शतक बनाउने क्रममा १३६ रन जोडे । त्यस्तै कप्तान टेम्बा बभुमाले ६४ रन बनाए । 

यसअघिका तीना इनिङ्स बलर हावी भएका थिए । खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५६.४ ओभरमा अलआउट हुँदै २१२ रन बनायो । बेउ वेबस्टरले ७२ तथा स्टेभेन स्मिथले ६६ रन बनाएको इनिङ्समा कागिसो रबाडाले ५ तथा मार्को जासनले ३ विकेट लिए । 

जवाफमा दक्षिण अफ्रिका ५७.१ ओभरमा अलआउट हुँदै १३८ रनमै समेटियो । डेभिड बेडडिंघमले ४५ र कप्तान बभुमाले ३६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा कप्तान पाट कमिन्सले ६ तथा मिचेल स्टार्चले २ विकेट लिए । 

दोस्रो इनिङ्समा अष्ट्रेलियाले ६५ ओभरमा २०७ रन बनाउन सक्यो । मिचेल स्टार्चले अविजित रहँदै ५८ रन जोडे । रबाडाले ४ तथा लुंगि एनगिडीले ३ विकेट लिए । 

टेष्ट च्याम्पियनशिपमा टेष्ट खेल्ने नौ राष्ट्रबीच प्रतिस्पर्धा गराई शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनल खेल्छन् । 

यो उपाधि अहिलेसम्म यसअघि अष्ट्रेलिया र न्यूजिल्याण्डले जितेका थिए । यसअघिका दुवै संस्करणमा फाइनलमा पुगेको भारत यसपालि तेस्रो स्थानमा रह्यो । न्यूजिल्याण्ड चौथो स्थानमा रह्यो । पाकिस्तान पुछारमा रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ