arrow

भिजिट भिसा प्रकरण

रास्वपाको पाँच बुँदे प्रस्तावमा छलफल हुँदैन: योगेश भट्टराई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
yogesh-28.jpg

काठमाडौँ। नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पठाएको पाँच बुँदे प्रस्तावमाथि कुनै छलफल नहुने स्पष्ट पारेका छन्। बुधबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त प्रस्ताव कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका हुन्।

भट्टराईले नेकपा (माओवादी केन्द्र) ले ड्राफ्टसहित पठाएको प्रस्तावमा भने आफूहरू सहमत रहेको जिकिर गरे। उनले विपक्षी दलहरूले फेरि छलफलका लागि एक दिनको समय मागेकाले बिहीबारको संसद बैठक अपराह्न ३ बजे बोलाइएको जानकारी दिए।

उनले माओवादी केन्द्रको दुई बुँदे प्रस्तावमा विपक्षी दलहरूले सहमति जनाउने प्रयास गर्ने विश्वास व्यक्त गरे। "रास्वपाले पठाएको पाँच बुँदेमा कुनै छलफल नै हुँदैन, त्यसमा जान सकिँदैन," भट्टराईले भने, "हामीले माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ। विपक्षी दलले भोलि एक दिन फेरि छलफल गर्न समय माग गर्नुभएको छ। त्यसकारण संसदको बैठक पनि अपराह्न ३ बजे राखिएको हो। माओवादीको दुई बुँदेमा, जुन हामीले पनि सहमति जनाएका छौँ, त्यसमा सहमति गर्ने कोसिस गर्नुहुन्छ होला।"

उनले विपक्षीहरूसँग सहमति नभएको खण्डमा पनि अब संसद् लामो समय अवरुद्ध हुन नसक्ने र संसद अगाडि बढ्ने दाबी गरे।

'भिजिट भिसा' प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि नेकपा (माओवादी केन्द्र), रास्वपा लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन्। सोही अनुसार बुधबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको थियो। संसद्को गतिरोध अन्त्यका लागि रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ