काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका गाउँहरू रित्तिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले गाउँमा बस्न कोही तयार नभएको र सबै तराईमा आइसकेको बताए।
देउवाले पहाडमा बस्न कोही तयार नरहेको उल्लेख गर्दै यदि पहाडी क्षेत्रमा पर्याप्त सुविधा दिन सकिएमा ती ठाउँहरू सुन्दर र सफा रहेकाले मानिसहरूले मन पराउने बताए। उनले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरू बनाउनुपर्नेमा जोड दिए।
“विपी कोइरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो,” देउवाले भने, “तर अब अहिले गाउँ नै रित्तिसक्यो। गाउँ छैन। कोही गाउँमा बस्न तयार छैन। सबै तराईमा आइसकेका छन्। पहाडमा बस्न कोही तयार छैनन्। पहाडमा सुविधा दिन सकेको खण्डमा पहाड सुन्दर र सफा छ। हावापानी राम्रो छ। सुविधाहरू पनि त्यस्तै हुनुपर्दछ।”
सभापति देउवाले जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताए। उनले हिउँ पग्लिरहेको र हिमाल नाङ्गो भइसकेको अवस्थाले भविष्यमा नेपाललाई ठूलो असर पर्ने चेतावनी दिए। नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक रहेको उनको भनाइ छ। जंगलको बचाउँदा बचाउँदै पनि जलवायु परिवर्तनको असर ठूलो रहेको र यो समस्या नेपालमा विकराल रहेको उनले उल्लेख गरे।
देउवाले यस सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र यसलाई ‘बेकारको कुरा’ भनिरहेको बताउँदै ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको पनि उल्लेख गरे।