सभामुखको अथक प्रयास विफल, विपक्षीहरू अडानबाट पछि नहट्ने, पेलेरै अगाडि बढ्ने सरकारको संकेत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
828
Shares
काठमाडौँ । संसद्मा जारी गतिरोध अन्त्य गर्ने सभामुख देवराज घिमिरेको अथक प्रयास विफल भएको छ। प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग आइतबार बिहान भएको छलफल बिना निष्कर्ष टुङ्गिएको छ। विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहट्ने भएपछि सत्तापक्षले बजेटमाथिको छलफल अब पेलेरै अगाडि बढाउने संकेत दिएको छ।
छलफलका क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले विपक्षीले सहयोग नगरे पनि संसद्को कारबाही अगाडि बढ्ने स्पष्ट पारेका छन्। उनीहरूले बजेटमाथिको छलफल आजैदेखि सुरु हुने अडान दोहोर्याएका छन्।
छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलहरूले आ–आफ्नै अडान दोहोर्याउँदा सहमति हुन सकेन। बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद्लाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको प्रतिक्रिया दिए। उनले प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए। घिमिरेले प्रतिपक्षले असहयोग गरे पनि संसद्को कारबाही अगाडि बढाउने जिकिर गरे।
उनले भने, “आजबाट संसद् सञ्चालनमा आउँछ। अपोजिसनबाट हामीले कुनै पनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ। संसद् सञ्चालन गर्न दिने कि नदिने भन्ने निष्कर्ष उहाँहरूले दिनुभएको छैन। उहाँहरूले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ। यदि उहाँहरूले अप्ठ्यारो गरे पनि केही असहज होला तर संसद् अगाडि बढ्छ।”
एमालेका प्रमुख सचेतक बर्तौलाले आजदेखि सहमतिको लागि सूचना टाँसेर बैठक स्थगित गर्ने पक्षमा आफूहरू नरहेको बताए। उनले प्रतिपक्षीले अवरोध गरे पनि वा नगरे पनि आजदेखि बजेटमाथिको छलफल सुरु हुने बताए।
उनले भने, “प्रमुख प्रतिपक्षी दलहरूले सहमतिको लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो। हामीले त्यो हामीले मान्दै आयौँ। आजको बैठकमा चाँही हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन। आजदेखिको बैठक हामी स्मूथ्ली अगाडि बढाउन चाहन्छौँ। बजेटमाथि आजदेखि छलफल आरम्भ हुन्छ।”
अर्कोतर्फ, प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले भने पार्टी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको विपक्षी दलको बैठकपछि मात्रै आफ्नो धारणा दिने बताएका छन्।
‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने विपक्षीको मुख्य अडानका कारण संसद् अवरोध हुँदै आएको छ, जसले गर्दा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ।
सभामुख घिमिरेले दलहरूबीच सहमति जुटाउन पटक–पटक बैठक स्थगित गरे पनि निकास नआएपछि उनले असन्तुष्टि व्यक्त गरेका थिए। उनले संवैधानिक सीमा र व्यावहारिक पक्षको ख्याल गर्दै संसद्लाई सुचारु गर्न आग्रह गरे पनि त्यसले मूर्तरूप लिन सकेन।
संसद्मा देखिएको यो गतिरोधले बजेट पारित प्रक्रियामा थप जटिलता ल्याउने देखिएको छ।