आगलागीमा तार जलेपछि बाजुराका तीन पालिकामा इन्टरनेट सेवा अवरुद्ध
मर्मत टोली आइतबारसम्म आइपुग्ने, सञ्चारमाध्यम र सरकारी तथा वित्तीय संस्थाहरूको काम प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
887
Shares
बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा एक होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएपछि यहाँको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
साँफे–मार्तडी राजमार्गमा पर्ने बाम्का बजारमा शुक्रबार नवदुर्गा होटलमा ग्यास पड्किएर आगलागी हुँदा इन्टरनेटको तार जलेपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुरा शाखाले जनाएको छ ।
बाम्का बजारमा आगलागी भएपछि विद्युत्को तारसँगै इन्टरनेटको पनि जलेको नेपाल टेलिकम बाजुराका प्राविधिक गङ्गाराम जैशीले बताए ।
उनका अनुसार टेलिकमको तार जलेको डडेल्धुरामा खबर गरिसकेको छ । मर्मत टोली आइतबारसम्म आइपुग्ने टेलिकमका प्राविधिक जैशीले बताए ।
त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा विस्तार गरिएका तार जलेर नष्ट भएको छ भने मार्तडीको इन्टरनेटमा पनि खराबी आएका कारण इन्टरनेट सेवा सञ्चालन हुन नसकेको जैशीको भनाइ रहेको छ ।
इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम र सरकारी तथा वित्तीय संस्थाहरूको काम प्रभावित बनेको छ ।
बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग राहत माग गरिएको बताए ।