arrow

अख्तियारको अर्को कदम

टेलिकमको बिलिङ प्रणालीमा भ्रष्टाचार: पूर्व र वर्तमान प्रबन्ध निर्देशकसहित १८ विरुद्ध मुद्दा [भिडियो]

प्रतिवादीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो मागदाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
yagyaraj-regmi-25.jpg

काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्बन्धी ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा कम्पनीका वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि भ्रष्टाचारको आरोप लगाएको हो।

अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतको ठेक्का अवधि अनावश्यक रूपमा लम्ब्याएर भ्रष्टाचार गरेको आरोप लगाएको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, अख्तियारले प्रतिवादीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो मागदाबी गरेको छ। यसमध्ये, बिलिङ प्रकरणमा भएको ९ करोड ८८ लाख ४१ हजार ९५६ रुपैयाँ हानि नोक्सानी बराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ।

रेग्मीले बताए, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पत्तिको हिनामिना र हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ।”

नेपाल टेलिकमबाट प्रतिस्पर्धाबिना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले यस विषयमा विस्तृत अनुसन्धान थालेको थियो।

२०७९ पुसमा भएको ठेक्का सम्झौताअनुसार, चिनियाँ कम्पनी एसिया इन्फो ले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने स्थिति बनेको थियो। यही ठेक्का सम्झौतालाई आधार बनाएर अख्तियारले भ्रष्टाचार भएको ठहर गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ